
काठमान्डौं/प्रधानमन्त्री पुष्पकमल दाहाल तयार भएको खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थशास्त्रीसमेत रहेका सांसद स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन प्रस्ताव गर्ने जनाएको छ ।सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मुकुल ढकालले वाग्लेलाई अर्थमन्त्री बनाउन आफ्नो दलले प्रस्ताव गर्ने बताएका हुन् ।आजको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले देशको अर्थतन्त्र कमजोर भएकाले उक्त मन्त्रालयमा रास्वपाले दाबी गर्नु पर्ने बताएका उनको भनाइ छ । तर, त्यसका लागि सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय गर्नु पर्ने उनको भनाइ छ ।
‘अर्थतन्त्र कमजोर भएका कारणले अर्थ मन्त्रालयमा दाबी गर्नुपर्छ भन्ने धारणा पनि सदस्यहरुले राख्नुभयो’ उनले भने , ‘तर पहिला जाने वा नजाने निर्णय भए पछिको कुरा भएको उनले बताए ।’अर्थमन्त्रालय दिन प्रधानमन्त्री तयार भएको अवस्थामा वैशाख १० को उपनिर्वाचनमा तनहुँबाट निर्वाचित स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन आफ्नो दलले प्रस्ताव गर्ने ढकाल बताउँछन् ।
‘प्रधानमन्त्री तयार भएको अवस्थामा स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउँदा हामी एकदमै खुसी हुन्छौँ । यो देशको अहिलेको आवश्यकता हो,’ उनले भने, ‘तर जाने वा नजाने निर्णय शुक्रवार मात्रै हुन्छ ।’आज बसेको बैठकले वाग्लेलाई पार्टीको अर्थ नीति विभाग प्रमुख बनाएको छ ।प्रधानमन्त्री पहिले रास्वपाले पाएको मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखनका लागि पनि तयार रहेको ढकालको दाबी छ ।