
काठमान्डौ/धादिङको गणेशखोलामा रहेको पुलको मुखनिर जमिन भासिएपछि सोमबारदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुल्न अझै केही घन्टा समय लाग्ने भएको छ।जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले बिहान १० बजेसम्ममा एकतर्फी सवारी चलाउने गरी काम भइरहेको बताए।
१६ घन्टादेखि राजमार्ग अवरूद्ध हुँदा साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। काठमाडौं आउने सवारी साधनले गल्छी-नुवाकोटको बाटो प्रयोग गरिरहेका छन् भने काठमाडौंबाट बाहिर जाने गाडी त्रिभुवन राजपथबाट हेटौंडातिर गएका छन्।
बाटो मर्मतको काम नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डले गरिरहेको छ।
योजनाका इन्जिनियर जयराम अधिकारीका अनुसार भत्किएको ठाउँमा पाँच तह जाली बिछ्याएर सकिएको छ।
‘पहिला हामीले फिलिङमात्रै गरेर गाडी चलाउन सकिन्छ कि भन्ने ठानेका थियौं, त्यसरी सम्भव नहुने देखिएपछि ग्याबिन गर्न थालेका छौ,’ उनले भने, ‘अब काम अन्तिम चरणमा पुगिसक्यो। केही समयमै एकतर्फी बाटो खुल्छ।’