पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाकार राई पक्राउ

Share:

काठमान्डौ/पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरस्थित थेचुबाट उनलाई प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको हो ।

 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गर्नमा मुख्य भूमिका उनकै रहेको प्रहरीको आरोप छ । राईलाई ललितपुरको थेचुस्थित निवासबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । रामबहादुर थापा गृहमन्त्री हुँदा राई उनका सुरक्षा सल्लाहकार थिए ।

 

एमाले उपाध्यक्ष बादल गृहमन्त्री रहँदा उनी २०७४ फागुनदेखि २०७८ असारसम्म सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए। यसअघि पक्राउ परेका व्यक्तिको बयानका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । राईले गृह मन्त्रालयमा हुँदा नीतिगत निर्णय गराउनेदेखि नक्कली शरणार्थी बनाएर ५० लाख रुपैयाँसम्म असुल्न बाटो खुलेको हो । पीडितबाट रकम असुल्ने व्यक्तिले राईलाई रकम बुझाएको समेत बयान दिएका छन् । यसअघि यही घटनामा एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी सानु भण्डारी र कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्व स्वकीय सचिव केशव दुलालसहित सागर थुलुङ, टंक गुरुङ र सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।

 

बादलका छोरा प्रतीक, इन्द्रजित राईका छोरा निरज र टोपबहादुर रायमाझीका छोरा सन्दीपको नामसमेत यो प्रकरणमा जोडिएको छ ।

Share: