
काठमान्डौ/काभ्रेपलाञ्चोकस्थित एक सहकारीमा नगद चोरी भएको छ । सोमबारराति १:२० बजे पनौती नगरपालिका-४, टोखालमा अवस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालयमा चोरी भएको हो । सहकारीका सुरक्षा गार्डलाई बन्धक बनाइ अज्ञात समुहले नगद चोरी गरेको सहकारीले जनाएको छ ।
लकरमा राखिएको ३२ लाख ३१ हजार ७ सय ४५ रुपैयाँ, एक थान डिभिआर र एक थान एभिआर हराएको सहकारीले आज एक विज्ञप्तिमा मार्फत जानकारी दिएको छ । सहकारीको कम्पाउण्डबाट भित्र छिरेर पाँच जनाको समूहले नगद चोरी गरेको विज्ञप्तिमा उल्लेख छ । चोरीको बारेमा प्रहरीलाई खबर गरी तत्काल अनुसन्धान अघि बढिसकेको र चोरीबाट हराएको रकम भवनको बिमा गरेको जानकारी दिँदै बिमा दावीको प्रकृया समेत अघि बढिसकेको सहकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चोरी पश्चात् सहकारीको डकुमेन्ट, सर्भर लगायत अन्य सामानहरु सुरक्षित रहेको, कुनै पनि मानविय क्षति नभएको र सदस्यहरुलाई दिईने सेवा बिहान ९ बजेबाट नै सुरु भएको सहकारीले जनाएको छ । सहकारीले यो घटना सहकारी क्षेत्रकै चुनौतीको रुपमा देखिएकाले अनुसन्धानमा सहयोग गरि दोषिलाई पत्ता लगाई कारवाही अगाडि बढाउन सुरक्षा निकायलाई बनुरोध गरेको छ । अन्य बैंक तथा सहकारी, बित्तिय संस्था, संघ संस्थालाई पनि यस्ता घटना हुनबाट बच्न सहकारीले आग्रह गरेको छ ।