
काठमान्डौ/एचआइभी सङ्क्रमण भएकै आधारमा नागरिकता नपाएको व्यक्तिहरु फेला परेको जनाइएको छ । नागरिकता प्राप्तिका लागि आवश्यक पर्ने कानुनी आधार र प्रमाण अभावको कारणले सङ्क्रमित भएका व्यक्तिहरुले नागरिकता नपाएको, तिनका सन्तानको जन्मदर्ता नपाएको आयोगले जनाएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका अनुसार नवलपरासी पश्चिममा यस्ता सङ्क्रमित व्यक्तिहरुको सङ्ख्या ९० भन्दा धेरै रहेको जनाएको छ । आयोगले एचआइभी सङ्क्रमितलाई लाञ्छना तथा भेदभावजन्य जस्ता व्यवहारबाट मानव अधिकार संरक्षणका लागि उजुरी संयन्त्र प्रभावकारी बनाउने सरकारलाई सुझाव दिएको छ ।
यस्तै, नयाँ एचआइभी दर लक्ष्यअनुसार घटाउनका लागि समुदाय स्तरमै एचआइभी परीक्षण कार्य प्रभावकारी बनाउनसमेत आयोगले आग्रह गरेको छ । एचआइभी सङ्क्रमण सुईबाट लागूपदार्थ लिने व्यक्ति, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष, ट्रान्सजेन्डर व्यक्ति, पुरुष यौनकर्मी, महिला यौनकर्मी, पुरुष प्रवासी श्रमिक र उनीहरुका परिवारमा उच्च रहेको छ ।
नयाँ सङ्क्रमण दर प्रवासीमा २५ प्रतिशत, पुरुषसँग यौसम्पर्क गर्ने पुरुष र ट्रान्सजेन्डर व्यक्तिहरुमा १९, महिला यौनकर्मीमा नौ, पुरुष यौनकर्मीहरुमा आठ र सुईबाट लागूपदार्थ लिने व्यक्तिहरुमा दुई प्रतिशत रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । नेपालमा २०२० को डिसेम्बरसम्म ३० हजार तीन सय एचआइभी सङ्क्रमित रहेका छन् ।