सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु , राष्ट्रियसभाको १४औँ अधिवेशन आज देखि

Share:

काठमान्डौ/सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरे अनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।नयाँ बानेश्वरस्थित संसद् भवनमा अपरान्ह ४ बजेदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभएको थियो ।

 

यस अधिवेशनमा मुख्यरुपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अधिवेशन प्रारम्भसँगै प्रि-बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने जनाइएको छ ।

 

राष्ट्रियसभाको १४औँ अधिवेशन आजदेखि

राष्ट्रियसभाको आजदेखि १४औँ अधिवेशन सुरु भएको छ ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अपराह्न ठिक ४ बजे सुरु भएको अधिवेशनको पहिलो बैठकको प्रारम्भमै सांसदहरुलाई स्वागत गर्नुभयो । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र र वर्तमान मन्त्रिपरिषद्मा पछिल्लो समय भएको मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा अध्यक्ष तिमिल्सिनाले पढेर सुनाउनुभयो ।

 

बैठकमा लोकतन्त्र प्राप्त गर्ने सन्दर्भमा वीरगति प्राप्त गर्ने ज्ञातअज्ञात सहिदको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्यीय छ । समाजका विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व रहेको राष्ट्रियसभामा प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व रहेको छ । अधिवेशन प्रारम्भ भएका अवसरमा बैठकमा विभिन्न दलबाट प्रतिनिधित्व गर्नुहुने सांसदले शुभकामनासहित समसामयिक विषयमा आफ्नो धारणा राखिरहनुभएको छ ।

 

 

Share: