
काठमान्डौ/भारतको केरल राज्यमा उपचार गराउन पुगेका एक बिरामीले महिला चिकित्सकको हत्या गरेपछि त्यहाँका सरकारी र निजी चिकित्सकहरूले हडताल गरेका छन् । कोत्ताराक्कारा तालुक अस्पतालमा कार्यरत डा. वन्दना दासलाई पुरुष बिरामीले सर्जिकल कैंची तथा स्काल्पेल उपयोग गरी हत्या गरेका थिए ।
सन्दीप नामक ती व्यक्तिलाई चोट लागेकोले हातगोडाको उपचार गराउन चिकित्सककहाँ पुगेका थिए । प्राथमिक विद्यालयमा पढाउने सन्दीप मदिराको लत तथा लागूऔषध दुर्व्यसनी रहेको बताइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार, उनले पहिला प्रहरी र एक नातेदारमाथि आक्रमण गरेका थिए र पछि गएर उनले चिकित्सकको शरीरमा कैंची र चक्कु प्रहार गरेका थिए ।
उनलाई शय्यामा राखेर उपचार गरिँदै गर्दा एक्कासि चिच्याउँदै उठेका थिए अनि तीखो कैंची र चक्कु समातेर भेटेजति मान्छेलाई आक्रमण गर्दै हिँडेका थिए । वन्दनालाई उनी कार्यरत अस्पतालमा उपचार गरिए पनि सफल हुन नसकेपछि तिरुवनन्तपुरम लगिएको थियो । तर उनको ज्यान बचाउन सकिएको थिएन ।
डा वन्दना दास सन्दीपको हातमा कैंची र चक्कु देखेपछि डराएर स्तब्ध भएको अनि भाग्न नसकेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । सन्दीपले उनीमाथि कैयौंपटक प्रहार गरी गहिरो चोटपटक लगाएका थिए ।