कोभिड १९ र कोभिड १९ संक्रमण पछि नेपालको स्वास्थ्य क्षेत्रमा परेको प्रभाव ?

Share:

काठमान्डौ/विश्व अहिलेपनि कोभिड–१९ बाट आक्रान्त बनिरहेको छ । यसअघि विभिन्न कालखण्डमा इबोला, बर्डफ्लु , स्वाइनफ्लु जस्ता भाइरस माहामारीको रुपमा फैलिएको थियो ।कोरोना मध्यकै २००३ मा देखिएको र्सास कोभिड, २०१२ को र्मस कोभिड र अहिलेको कोभिड–१९ उहि प्रकृतिका भाइरस भएपनि संक्रमितमा लक्षण फरक देखिएका हुन् ।

 

कोरोना हरेक पटक नयाँ रुपमा देखिने गरेको वैज्ञानिक अध्ययनहरुले भनिएको छ । मानिसबाट मानिस र जीव जनावरबाट समेत संक्रमण हुने स्वभावको कोरोना भाइरसले रोगप्रतिरोधी क्षमता उच्च भएका मानिसलाई कम असर गर्ने गर्छ । सन् २००२ मा चीनमा पहिलो पटक देखिएर सन् २००३ मा पत्ता लागेको र्सास कोभिडबाट संसारका करिब ८००० मानिस संक्रमित हुँदा ७७४ जनाको मृत्यु भएको थियो । यसैगरी सन् २०१२ मा साउदी अरबमा देखा परेको र्मस कोभिडबाट २५१९ केस देखा परेकोमा ८६६ जनाको ज्यान गुमाएका थिए । २७ देशमा फैलिएको यसको संक्रमण जनावर उँट बाट मानिसमा फैलिएको जनाइएको छ ।

 

यसैगरी सन् २०१९ को अन्त्यमा चीनमा देखापरेको कोभिड–१९ विश्वभरमा अधिकांश मुलुकमा फैलिएको छ । अहिलेसम्म धेरै मानिसहरुले ज्यान गुमाइसकेका छन् । कोभिड–१९ को पहिलो केस ३१ डिसेम्बर २०१९ मा चीनको वुहानमा पहिचान भएको थियो भने नेपालमा कोभिड–१९ को पहिलो घटना २४ जनवरी २०२० मा देखिएको थियो । कोभिड–१९ ले नेपालको स्वास्थ्य क्षेत्रमा नराम्रो प्रभाव पारेको छ । कोभिड महामारी सुरु भएको साढे दुई वर्षमा नेपालमा ११,९६८ को ज्यान गइसकेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको तत्याङ्कले देखाउँछ । अर्थात कोभिडका कारण हुने मृत्यु दर १.२५ रहेको पाइएको छ । यो महामारीले नेपालमा ठूलो मानवीय क्षति भएसँगै यसको दुरगामी प्रभाव रहेको छ ।

 

कोभिडका कारण अरु थुप्रै गैर संक्रमित रोगहरुमा पनि ठूलो प्रभाव रह्यो । सामाजिक दूरी वा क्वारेन्टाइनले अस्वस्थ्य आहार, शारिरिक निस्कृयता, सुर्तीजन्य र रक्सीको बढी प्रयोगले गैर संक्रमित रोगको व्यवस्थापनमा असर पुगेको देखियो । देशमा प्राथमिक स्वास्थ्य सेवा, फार्मेसी र सामुदायिक सेवाहरुको प्रतिबन्धले गैर संक्रमित रोगका बिरामीहरुको हेरचाहमा निरन्तर बाधा पुगेको थियो । धेरै व्यतिहरु जसलाई मुटु रोग, क्यान्सर, मधुमेह जस्ता रोगहरुको लागि उपचार चाहिन्छ, उनीहरलाई आवश्यक स्वास्थ्य सेवा र औषधी प्राप्त गर्न कठिनाइ भएको थियो ।यसैगरी मिर्गौलाको डाईयालिसिस, स्तन र पाठेघर क्यान्सरका जस्ता जटिल रोगहरुका लागि आवश्यक स्क्रिनिंग अभियान पनि अवरुद्ध थियो । यसरी नियमित स्वास्थ्य सेवा र चिकित्सा आपूर्तिको अवरोधले गैर–संक्रमित बिरामीहरुमा समय बित्दै जादा असक्तता र मृत्युदरको जोखिम बढेको छ ।

 

यसैगरी अर्को पाटोमा कोभिडले मानसिक स्वास्थ्यमा पनि अत्यन्तै असर पारेको छ । अस्तव्यस्त भएको दिनचर्याले धेरै मानिस, मानसिक रोगको सिकार समेत हुन पुगे । शिक्षा, मनोरन्जन, साथ साथै पारिवारिक आय र स्वास्थ्यको चिन्ता जस्ता बाधाहरूले गर्दा धेरै युवाहरूले डर, क्रोध र आफ्नो भविष्य प्रति चिन्तित छन् र अझै पनि युवाहरु निर्धक्कका साथ जिउन असर्मथ छन् । कोभिड महामारीको पहिलो र दोस्रो लहरपछि मानसिक समस्या ह्वात्तै बढेको देखिन्छ अझ यो समस्या केही मानिसमा दीर्घकालसम्म पनि रहेको पाइन्छ । हाम्रो समाजमा मानसिक रोगलाई ठुलो रुपमा हेरिन्छ । यो विषयमा अझै पनि खुलेर कुरा गर्दैनन् ।

 

मानसिक रोगलाई लुकाएर नै बस्छन् तर मानसिक समस्या जटिल रोग भने होइन । कुनै पनि डप्रेसन र एङ्जाइटी जस्ता मानसिक रोगहरु निको हुँदैन भन्ने मान्यता राख्नु हुँदैन । यस्ता रोगहरुलाई परामर्श तथा औषधि उपचारमार्फत निको पार्न सकिन्छ । मानसिक स्वास्थ्यप्रति बेवास्ता गर्नु हुँदैन । मानसिक स्वास्थ्यप्रति सकारात्मक धारणा बनाउन जनचेतना फैलाउन राज्यले पनि ध्यान दिनु पर्ने आवश्यक देखिन्छ ।कोभिड भाइरसको सुरुवात भएदेखि केसहरुको संख्या बढ्दै गएको थियो र अहिलेसम्म पनि नेपालको स्वास्थ्य सेवा प्रणाली कोभिड बाटै धेरै प्रभावित छ ।

 

त्यसैले अहिले नेपालको स्वास्थ्य पूर्वाधार र जनाचेनता र रोगको आम बुझाई बदल्न ठूलो लगानी गर्न आवश्यक देखिन्छ । मानिसको जीवन बचाउने सवालमा सरकारले ठूलो लगाानी गर्न अपरिहार्य छ । जसले गर्दा अहिले देखिएका स्वास्थ्य क्षेत्रका समस्या हल गर्न र आम मानिसको पौचमा स्वास्थ क्षेत्र पुर्याउन आवस्यक छ। जसले गर्दा प्रतिफल दीर्घकाल सम्म प्राप्त भइ स्वस्थ समाजको परिकल्पना पुरा हुन् पुग्दछ।

 

 

                                                                                                                –  लेखक : मनिषा महर्जन

Share: