के हो बीमा ? बीमा गरे के हुन्छ ? नेपालमा बीमाको सुरुवात र बीमाको फाईदाहरु ?

Share:

काठमान्डौ/बीमा भनेको तपाईंलाई आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । तपाईं हामी सबै भोलिका बारेमा अनबिज्ञ हुन्छौं भोलिका बारेमा कसले नै जानेको हुन्छ र भोलि अचानक जे पनि हुन सक्छ ! भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । त्यही सम्भावित जोखिमको पुर्ताल गर्न गरिने एक प्रकारको सम्झौता नै बीमा हो । बीमालाई जोखिम हस्तान्तरणको रूपमा व्याख्या गर्ने गरिएको छ । अनिश्चित जोखिम, दुर्घटनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुसार निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना (बीमालेख) खरिद गर्न सक्छन् ।

 

बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो । यसले बीमा गराउने र बीमा गर्ने दुवै पक्षलाई फाइदा पुग्छ । बीमा भनेको बीमा कम्पनी र बीमा गर्ने ब्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गर्ने गरिन्छ ।

 

नेपालमा बीमाको सुरुवात : नेपालमा बीमा व्यवसायको सुरुवात नेपालको आधुनिक बीमा व्यवसायको सुरुवातको इतिहास धेरै पुरानो छैन । आरम्भमा भारतीय बीमा कम्पनीहरूले खुला रूपमा कार्यालय खोली बीमा अभिकर्ता वा इन्सपेक्टरमार्फत नेपालमा बीमा व्यवसाय चालाएका थिए । स्वदेशी बीमकको स्थापनापूर्व छवटा भारतीय बीमा कम्पनीले नेपालमा काम गरेको अभिलेख भेटिन्छ। बैंकिङ कारोबारको वृद्धिसँगै बीमाको महत्त्व र आवश्यकता बढ्दै गएको हो। नेपाल बैंक लिमिटेडले ८ असोज २००४ सालमा बीमा कारोबार सम्हाल्न आफ्नो सहायक कम्पनीको रूपमा नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गर्याे । यसलाई नै नेपालको पहिलो बीमा कम्पनीको मान्यता दिइएको छ । उक्त माल चलानी कम्पनी अहिले नेपाल इन्स्योरेन्स कम्पनीको नाममा क्रियाशील छ ।

 

१ पुस २०२४ मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा राष्ट्रिय बीमा संस्थान स्थापना भयो । संस्थानले आफ्नो कारोबार ११ फागुन २०२४ देखि चालू गरेको थियो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ पारित भएपछि १ पुस २०२५ देखि राष्ट्रिय बीमा संस्थानले जीवन तथा निर्जीवन दुवै बीमा गर्दै आएको छ । बीमा व्यवसायलाई व्यवस्थित गर्न बीमा नियामक निकाय स्थापना गर्न २०२५ सालमा छुट्टै बीमा ऐन जारी भयो । यसले बीमा समितिको स्थापना गराएको हो।

 

सोही ऐनअनुसार बीमा नियम २०२६ समेत पारित भई कार्यान्वयन भएको हो । उद्योग, व्यापार तथा यातायात क्षेत्रको विकास हुँदै गएपछि थप बीमा कम्पनीहरू खुल्दै गएको पाईन्छ। । २०४४ सालमा जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको रूपमा नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनीको स्थापना भयो ।

 

२०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापनापछि नेपाल सरकारले अंगिकार गरेको आर्थिक उदारीकरणको नीतिको परिणामस्वरुप हाल ४० वटा कम्पनीलाई जीवन र निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न बीमा समितिबाट अनुमति प्राप्त गरेका छन् । नेपालको बीमा बजारप्रति बहुराष्ट्रिय बीमा कम्पनी, पुनर्बीमा कम्पनी लगायत अन्तर्राष्ट्रिय बीमा संगठनले समेत सरोकार राख्दै आएका छन् ।

 

बीमा दुई प्रकारका हुन्छन् ।

१) जीवन बीमा

२) निर्जीवन बीमा

 

१) जीवन बीमा : जीवन बीमा बचत र लगानी दुवै हो । जीवन बीमा जोखिमहरुको बहन गर्ने वित्तीय साधन हो । बीमा कम्पनीमा जसको बीमा गरेको हुन्छ उसले किस्ताबन्दीमा पैसा बुझाइ रहन्छ । यदि बीमा गर्ने कुनै पनि व्यक्ति कुनै घटनामा परे वा कुनै क्षति भयो भने बीमा कम्पनीले त्यस्तो क्षतिपूर्ति बहन गर्छ । तर बीमा गर्ने व्यक्तिको कम्पनीले सम्झौता अनुसार तोकेको समय अवधीसम्म कुनै घटना भएन भने बीमा कम्पनीहरुले प्रतिफल सहित सो रकम बीमितलाई फिर्ता गर्दछन् । जीवन बीमाका विभिन्न प्रकार हुन्छन् । आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र एन्युटि बीमा ।

 

२)निर्जीवन बीमा : निर्जीवन बीमा निश्चित अवधिको लागि गरिने सम्झौता पत्र हो । यसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अविधिमा बीमा गरिएको सम्पत्तिको क्षति भएमा कति हानि नोक्सानि भएको हो, त्यसको आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रुपमा भुक्तानी गर्छ । निर्जीवन बीमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुन गरिन्छ । यस खालको बीमामा चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा पर्छन् । निर्जीवन बीमामा अग्नि बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, सवारी बीमा र विविध रहेका छन् ।

 

बीमाका फाइदाहरू :

 

बीमा गर्दा कुनै पनि व्यक्तिले दोस्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बीमितलाई कहिल्यै घाटा हुँदैन ।बीमा गर्दा कुनै पनि व्यक्तिले दोस्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बीमितलाई कहिल्यै घाटा हुँदैन । बुँदागत रूपमा हेरौं बीमा गर्दाका फाइदाहरु यसप्रकार छन् ।

 

सर्वोत्तम बचत :जीवन बीमालाई सर्वोत्तम बचतका रूपमा लिन सकिन्छ । तर, यस प्रकारको बचत जुनसुकै समयमा झिक्न सकिँदैन । बैंक तथा वित्तीय संस्थामा रकम राख्दा जुनसुकै समयमा रकम झिक्न सकिने भएकाले अनावश्यक खर्च हुने सम्भावना पनि हुन्छ । तर, जीवन बीमा बापत सङ्कलन गरेको बचत तुरून्तै निकाल्न नसकिने भएकाले यसलाई सर्वोत्तम बचत भनिएको हो । बीमामा निर्धारित समयमा बीमा कम्पनीलाई बीमाशुल्क तिर्नुपर्ने हुन्छ ।

 

तोकिएको समयमा बीमाशुल्क नतिरेमा जरिमाना समेत तिर्नुपर्ने हुन्छ । त्यसैले, निधारित समयमै बीमाशुल्क भुक्तानी मार्फत अनावश्यक खर्च कटौती गरी बीमाशुल्कका रूपमा बचत गरिन्छ ।सर्वोत्तम बचतलाई अनिवार्य वा बाध्यात्मक बचत पनि भन्न सकिन्छ । जीवन बीमामा बीमितले पटक–पटक गरेर थोरै–थोरै रकम तिर्दै गए पनि बीमा परिपक्वता हुँदा धेरै रकम संकलन हुन्छ । साथै, बीमा अवधि नसकिँदै बीमितको मृत्यु भएमा सोही समयमा भविष्यमा तिर्नुपर्ने रकम वा बीमांक तथा सो अवधिसम्मको बोनससमेत निजको हकवालाले प्राप्त गर्छ ।

 

आर्थिक सुरक्षा : जीवन बीमाको चर्चा हुने बित्तिकै आर्थिक सुरक्षाको पनि कुरा आउँछ । बीमा नै यस्तो साधन हो, जसले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको कवचका रूपमा काम गरेको हुन्छ । बीमाले बीमितको धेरै ठूलो रकमको जोखिम वहन गरेको हुन्छ । बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा बीमांक तथा सो अवधिसम्मको बोनस बीमा कम्पनीले निजको हकवालालाई प्रदान गर्छ । बीमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ ।

 

कर छुट : आयकर ऐन अनुसार बीमा गरेमा २० हजार रुपैयाँसम्मको आयमा कर छुट हुने व्यवस्था छ । करमा छुट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।

 

ऋण सुविधा : बीमा गर्दा २ वर्षको बीमाशुल्क भुक्तानी गरिसके पछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेखबाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन ।

 

परनिर्भरता उन्मूलन : जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन अन्य व्यक्तिमाथि आश्रित हुनु पर्दैन ।

 

मानसिक शान्ति : मानिसलाई आफ्नो जीवनमा हुन सक्ने अनिश्चितताले सताइरहेको हुन्छ । आफ्नो मृत्युपछि घरव्यवहार सञ्चालन, सन्तानको शिक्षा, बुढेसकालको सहारालगायत विविध कारणले गर्दा मानिसहरू त्रसित भएका हुन्छन् । जीवन बीमाले यस्ता समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले मानसिक शान्ति प्रदान गर्छ । अचानक हुने आर्थिक क्षतिको भरपाइ बीमाले गर्ने भएकाले चिन्तामा बस्नु पर्दैन ।

 

भविष्यको योजना निर्माण : हाम्रो इच्छा र आकांक्षा आवश्यकता भन्दा माथि नै हुन्छ । हामीसँग भविष्यका योजनाहरू पनि हुन्छन् । सोहीअनुसार हामी काम गरिरहेका हुन्छौं । उदाहरणका लागि ३ वर्षपछि एउटा स्कार्पियो किन्छु वा ८ वर्षपछि घर बनाउँछु ।

 

यस्ता योजनामा हामीले आँखा चिम्लेर सोचेर मात्र पुग्दैन । यसका लागि हामीले बचत गर्न थाल्नुपर्छ, काम गर्नुपर्छ यस्तै यस्तै । कुनै पनि व्यक्तिका तिनै सपना वा योजनाहरूलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बीमा मार्फत भविष्यको योजना बनाउन सक्छौं ।

 

मुलुकको विकासमा योगदान : हरेक राष्ट्रभक्त नेपालीले देश विकासमा आफ्नो पनि सानो योगदान होस् भन्ने चाहना राख्छ । पूर्वाधार निर्माणमा सबै भन्दा बढी पुँजी जीवन बीमाले निर्माण गर्न सक्छ । देश विकासमा अलिकति पनि योगदान गर्न कसैले चाहन्छ भने जीवन बीमा उपयुक्त माध्यम हो।तेसैले जिवन बिमा गर्नाले राज्यलाई आफ्नो तर्फबाट हुने सानो पहलको सुरुवान गर्न सकिन्छ।

 

सन्तानको शिक्षा : हरेक व्यक्तिको आफ्ना सन्तान शिक्षित बनून् भन्ने चाहना हुन्छ । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहे अनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाका कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ ।

 

परिवार चलाउन पनि व्यवस्थापन चाहिन्छ भन्ने यसैले देखाउँछ ।समग्रमा बीमा मान्छेका लागि आवश्यक अत्यन्तै महत्त्वपूर्ण योजना रहेको बीमा समितिका पूर्वकार्यकारी निर्देशक श्रीमान कार्की बताउदै आएका छन। ।

 

हालसम्म कति छ त नेपालमा बीमा कम्पनी : नेपालमा जम्मा ४० वटा बीमा कम्पनी छन्, जसमा १९ वटा जीवन बीमा कम्पनी छन् । २० वटा निर्जीवन बीमा कम्पनी छन् भने एउटा पुनर्बीमा कम्पनी रहेका छन् ।

 

नियामक निकाय : नेपालमा हाल बीमा कम्पनीहरूको नियामक निकायका रूपमा बीमा समिति रहेको छ । समितिले नेपालभर रहेका बीमा कम्पनीहरूको नियमन गर्नुका साथै बीमाक्षेत्र सुधारका विभिन्न योजना तथा निर्देशनहरू जारी गर्ने गर्दछ ।

 

                                                                                                   -लेखक : प्रमिला घिसिङ

Share: