
काठमान्डौ/ढुंगेधारा नेवार समुदायको मौलिक सम्पत्ति मात्र नभई नेपाली जनजीवनको महत्वपूर्ण अंग रहदै आएको छ ।नेवारी कला र संस्कृतिले भरिपूर्ण मन्दिरै मन्दिरको शहरका रुपमा विश्वमै परिचित काठमाडौं उपत्यकामा ढुंगेधारा जताततै पाइन्छ । नेवारी सभ्यताअनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन सिथि नखः पर्व मनाउने गरिएको छ । नेवार समुदायले पानीको स्रोत सफा गर्दै सिथि नखः पर्व मनाउँछन् ।
यस दिन काठमाडौं उपत्यकाभित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाउने गरिन्छ । सिथि नखःले मनसुन सुरु हुन लागेको संकेत गर्छ । वर्षा सुरु भइसकेपछि भूमिगत पानीको सतह बढ्ने भएकाले सरसफाइ गर्न गाह्रो हुन्छ। त्यसैले मनसुन सुरु हुनु ठ्याक्कै अगाडि सिथि नखः मनाइन्छ। सिथि नखःका दिन मुहान सफा ग-यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास पनि रहेको छ । यस सिथी नखःको दिन पनि भोज पनि खाने गरिन्छ ।यस दिन बारा, चटामरी, पापड, मालपुवा आदि पकवान पकाएर खाने चलन रहदै आएको छ।नेवार जातिले यसरी चाडकै रुपमा ढुंगेधारा र अन्य पानीका मुहान संरक्षण गर्ने भएकाले नेवार समुदायको मौलिक सम्पत्तिकै रुपमा पनि ढुंगेधारा लाई लिने गरिन्छ। तर पछिल्लो समय यी मैलिक सम्पतिको संरक्षणमा भने सरोकारवाला सबैको ब्यवास्था रहदै आएको छ।
ढुंगेधारा एक समय काठमान्डौको पानीको मुख्य स्रोत रहदै आएको थियो। जब सम्म उपत्यकाका ढुंगेधारामा पानी आउथ्यो त्यतिबेला उपत्यकामा पानीको कमी थिएन। बढ्दो सहरिकरण तथा ढुंगेधारा,र राजकुलो मासिदैजानाले अहिले ढुंगेधाराको अधिकांश ठाँउमा अवशेषमात्र देखिने गरेको छ। ढुंगेधारामा पानी आउने मूलस्रोत राजकुलो हो । मुहान, भूमिगत पानी तथा राजकुलोबाट पानी ल्याएर ढुंगेधारा निर्माण गरिएको हो। यँहा पानी सदाबाहार बग्ने हुदा न त उपत्यकामा पानीको हाहाकार थियो , नत अहिले जस्तो पानी नबग्ने ढुंगेधारानै थिए।सदैब पानी बग्ने र पुराना कलाकृति सहितका ढुंगेधारा हुनाले अत्यन्तै आकर्षक देखिने ढुंगेधारा पानी विना अहिले कुरुप देखिन थालेका छन्।
ढुंगेधाराको निमार्ण हिजोआज मात्रै भएको होइन । यसको पछाडिको इतिहास लिच्छवीकालसम्म जोडिएको छ । लिच्छवीकालको सुरुमा कृति भनिने ढुंगेधारालाई लिच्छवीकालकै अन्त्यतिर ‘प्रणाली’ र मल्लकालमा ‘हिटी’ भनिन्थ्यो । ऐतिहासिक दस्तावेजमा सबैभन्दा पहिले भक्तपुरका राजा जितामित्र मल्लले सन् १६७८ मा राजकुलो बनाएर ढुंगेधारामा जोडेको उल्लेख छ । त्यसपछि नै नेपालको इतिहासमा धेरै ढुंगेधाराहरुको विकास भएको देखिन्छ । सन् १९८२ मा काठमाडौं सहरी विकास आयोजनाले गरेको सर्भेअनुसार काठमाडौंमा १ सय १७ वटा ढुंगेधारा छन् । यस्तै भक्तपुरमा १ सय ३ तथा ललितपुरमा ४० वटा ढुंगेधारा छन् ।
परापूर्व कालदेखिनै काठमाडौं उपत्यकाका ठाउँठाउँमा नेवार समुदायका अग्रजले प्राचीनकाल देखि निर्माण गरेर छाडेका ऐतिहासिक महत्वका ढुंगेधाराकै पानीले जनताको तिर्खा मेटिन्थ्यो । यसैगरी ढुंगेधाराले कलात्मक तथा सांस्कृतिक दृष्टिले आफ्नो छुट्टै पहिचान तथा गरिमा बोकेको छ । तर अहिले पानीका स्रोत सुक्दै जाँदा ढुंगेधाराबाट पानी आउन छोडेका छन्। यसरी उपत्यकाका धेरै स्थानमा पानीको स्रोतका रूपमा रहेको ढुंगेधारा नासिँदै जान थालेका छन् ।
वर्तमान समयमा मानव अतिक्रमण तथा सहरीकरणका कारण राजकुलो, पोखरी जस्ता मूल स्रोत नासिएर, कतिपय ढुंगेधारा लोप भइसकेका छन् भने केहि लोप हुने अवस्थामा पुगेका छन् ।अहिले हेर्ने हो भने ५० प्रतिशत धाराहरूबाट पानी आउन छाडेको र बाँकी धाराहरू संकटको सूचीमा परेका छन् । बढ्दो जनसंख्या र अव्यवस्थित बस्तीविकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका ढुंगेधाराहरू भत्काइएका पनि छन् ।
यसरी केही समय अघिसम्म मात्रै उपत्यकामा मुख्य पानीको स्रोतका रूपमा रहेका ढुंगेधारा धमाधम सुक्न थालेसँगै बेवारिसे बन्दै जानु साच्चिकै नै एउटा चिन्ताको विषय हो । उपत्यकाका कयौँ पटकका प्रलयकारी भूकम्पका झट्काले समेत विचलित नभएका यस्ता ढुंगेधाराहरु तत्कालीन वास्तुविज्ञहरुका अतुलनीय सिप तथा वास्तुकलाका उत्कृष्ट नमूना हुन्, जुुन विश्वका अरु कुनै जलवास्तु कलासँग तुलना गर्न सकिँदैन ।
हामीले अहिले यस्ता ढुंगेधाराहरुको संरक्षण गर्ने तर्फ ध्यान दिन अति नै आवश्यक देखिन्छ किनभने उपत्यकालाई जीवन्त बनाई राख्न यहाँको ढुंगेधाराहरुको धेरै महत्व छ । साथै राज्यले पनि ढुंगेधाराको संरक्षणमा बेवास्ता गरेको देखिन्छ त्यसैले उपत्यकाका स्थानीय तहहरुले आफ्नो बजेट, नीति कार्यक्रम मार्फत ढुंगेधाराहरुको संरक्षण गर्ने नीति बनाई यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक छ।
-लेखक : मनिषा महर्जन