
काठमान्डौ/धार्मिक पर्यटन प्रवर्द्धन गर्न कैलालीको बेहँडाबाबा धाम परिसरमा रहेको महादेवा तालमा ‘मोटरबोट’ सञ्चालनमा ल्याइएको छ । बेहँडाबाबा मन्दिर व्यवस्थापन समिति र नेपाल बोट एण्ड एम्युज्मेन्ट प्रालिबीच भएको सम्झौताबमोजिम उक्त तालमा प्रालिले मोटरबोट सञ्चालनमा ल्याएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताउनुभयो ।
यो धाम परिसरमा रहेको महादेवा तालको बीच भागमा रहेको महादेवा मन्दिरसम्म मोटरबोटमार्फत पुग्न प्रतिव्यक्ति रु ५० भाडा तोकिएको छ । सम्झौताबमोजिम तालमा रहेको जलकुम्भी झार र वरिपरिको सरसफाइ गर्ने जिम्मा नेपाल बोट एण्ड एम्युज्मेन्ट प्रालिले गर्ने जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले सोमबार मोटरबोट सञ्चालनको शुभारम्भ गर्नुभयो । बेहँडाबाबाको दर्शन तथा पूजा गर्न नेपाल र भारतबाट आउने भक्तजन बढ्दै जाँदा यो धाम धार्मिक पर्यटनको मुख्य गन्तव्य बन्ने देखिएको छ ।
झण्डै ३० बिघा क्षेत्रफलमा फैलिएको १५ फिट गहिरो यो प्राकृतिक ताल वरिपरि सडक निर्माण कार्य (पदमार्ग) भइरहेको छ । बेहँडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले तालको संरक्षणसहित बेहँडाबाबा धामलाई प्रमुख धार्मिक गन्तव्य क्षेत्र बनाउने प्रयासस्वरूप तालमा मोटरबोट सञ्चालनमा ल्याइएको बताउनुभयो । मोटरबोट सञ्चालनसँगै तालको बीच भागमा रहेको महादेवा मन्दिरसम्म पुग्न भक्तजनलाई सहज भएको छ ।
जोशीले भन्नुभयो, “केन्द्र सरकारको सहयोगमा ताल वरिपरि एक हजार दुई सय मिटर सडक (पदमार्ग) र रेलिङ लगाउने काम निर्माणाधीन छ, यसबाट पर्यटकको आवागमन थप बढ्ने अपेक्षा छ ।” बेहँडाबावा धाममा हरेक वर्ष लाग्ने मेलामा नेपालीको तुलनामा सीमापारि भारताट आउने भक्तजनको घुइँचो लाग्ने गर्छ । यहाँ गङ्गा दशहरा, मकर सङ्क्रान्तिलगायतका दिन ठूलो मेला लाग्छ ।
साविकको उर्मा गाविस र हाल धनगढी उपमहानगरपालिका–१६ मा पर्ने बेहँडाबाबा धामलाई भारतीय नागरिकले आफनो कुलदेवताको रूपमा पुज्ने गर्छन् । धाम परिसरमा भगवान् शिवको मन्दिर छ । मन्दिरभित्रको शिवलिङ्गलाई भक्तजनले स्वयम्भूको स्वरूपको रूपमा लिन्छन् । भगवान् बेहँडाबाबाको दर्शन पूजाआजा गरेमा सोचेको मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
प्राचीनकालमा तपोभूमिका रूपमा रहेको यो क्षेत्रमा अहिर जातिका भारतीयको बसोबास रहेको बताइन्छ । अहिलकोे बेहँडाबाबा धाम रहेको जङ्गल क्षेत्रमा गाईवस्तु चराउँदै गरेका भारतका एक ग्वाला (गोठाला)ले आफूले चराउने गरेको एक गाईले आफ्नो दूध नियमितरूपमा यसै ठाउँमा रहेको शिवजीको शिलामा खसाउने गरेको घटनापछि यो क्षेत्र शिव भगवान्को वासस्थानको रूपमा चिनिएको विश्वास गरिन्छ ।
स्थानीयवासी खेमबहादुर चन्दले भन्नुभयो, “बेहँडाबाबा धाममा रहेको शिवलिङ्गमा गाईले नियमितरूपमा भुइँमा दूध खसाउने गरेको घटनापछि नै बेहँडाबाबामा मन्दिर निर्माण गरी शिवलिङ्गको पूजा अर्चना गरिँदै आएको छ ।” बेहँडाबाबाको दर्शनका लागि पुग्ने भक्तजन तालको बीच भागमा रहेको गङ्गामाताको मन्दिरको समेत दर्शन र पूजा गर्ने गर्छन् ।
मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहेका चन्द भारतबाट आउने भक्तजन यसै तालको जल लिएर बेहँडाबाबा धामको शिवशिलामा चढाएर पूजा गर्ने गरेको बताउनुहुन्छ । “बेहँडाबाबा खासगरी सीमापारि भारतबाट आउने भक्तजनका कुलदेवता हुन्”, उहाँले भन्नुभयो, “उनीहरू हरेक वर्ष आफ्नो घरको नयाँ अन्न (धान, गहुँ) बेहँडाबाबालाई चढाएर पूजा र दर्शन गरेर फर्किन्छन् ।”