
काठमान्डौ/काठमाडौंको तारकेश्वरमा आज दिउँसो मोटरसाइल र यात्रुबाहक बस एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । तारकेश्वर नगरपालिका-६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो ।
बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
उनकाअनुसार गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ ।
तीव्र गतिमा काठमान्डौ आइरहेको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।