अपराधको फेरिदै रुप, बीमा रकम हत्याउने लोभले आफन्तकै हत्या !

Share:

प्रमिला घिसिङ :- काठमान्डौ/२०७९ साउनमा बीमा रकम लिनका लागि नक्कली विवाह गरेर छ जनाको एक समूहले कोहलपुर नगरपालिकाका २१ वर्षीय सर्जन विकको हत्या गर्याे । विकको हत्या आरोपमा २१ वर्षीय सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षीय सरदार अहमद खाँ, ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, ३८ वर्षीय दीपक केसी र २१ वर्षीय ललिता सापकोटालाई प्रहरीले पक्राउ गर्याे । डिपेण्डेन्ट भिसामा अस्ट्रेलिया लैजाने भनी २१ वर्षीयसपना मल्लसँग विकको विवाह भएको थियो । विकको रिलायन्स इन्सुरेन्समा २ करोड ५० लाख रुपैयाँको जीवन बीमा गरी इच्छाइएको व्यक्तिमा मल्लको नाम उल्लेख गरेर बैंक खाता खोलिएको थियो ।

 

२०७८ वैशाख २ गते चालक टोपबहादुर राना क्षेत्रीले चलाएको मिनीबसले मोटरसाइकल चालक सर्जन विकलाई ठक्कर दिएर उनको मृत्यु भएको भन्दै टोपबहादुरमाथि सवारी ज्यान मुद्दामा माघ २५ गते अदालतले एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । मुद्दा सकिएलगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्सुरेन्सबाट दुई करोड ५० लाख रुपैयाँ भुक्तानी लिएको पाइएको छ । इन्सुरेन्सबाट आएको रकम छ जनाको समूहले बाँडेर लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।प्रहरीका अनुसार उक्त घटनामा मुख्य योजनाकार सञ्जीव अर्याल हुन् भने बीमा एजेन्ट खाँको अर्यालसँग पुरानै चिनजान थियो । सोही क्रममा विवाह गरेर विदेश जाँदा फाइदा हुने बताउँदै ललिताले मल्ललाई सञ्जीवसँग चिनजान गराएकी थिइन् । यता सपनाको सजनसँग विवाह दर्ताको समयमा मात्रै भेट भएकाले बिहे नक्कली भएको प्रमाणित हुने प्रहरीले अनुसन्धानको क्रममा जानकारी दिएको थियो ।

 

त्यसैगरी, २०७६ असार २० गते रौतहटको मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले बीमा रकमकै लागि आफ्नी ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेको प्रहरी अनुसधानबाट खुलेको थियो । आमासँगै सुतेकै अवस्थामा राति १ बजे छोरी लक्ष्मीको घाँटी थिचेर हत्या गरी उनले पोखरीमा फ्याँकिएको रहस्य प्रहरी अनुसन्धानाट खुलेको थियो ।यादवले बीमा रकम निकाल्ने योजनाअनुरुप अघिल्लो महिना जेठ १७ गते छोरी लक्ष्मीको नाममा २५ लाखको बीमा जिल्लाकै गरुडास्थित प्रभु लाइफ इन्स्यारेन्स कम्पनीमा गराएका थिए । सोही क्रममा उनले बीमा गरेको २९औँ दिनमा छोरी लक्ष्मीको हत्या गरेका हुन् ।

 

त्यस्तै, गत कात्तिक ६ गते सप्तरीमा बीमा रकम लिनकै लागि एक श्रीमतीले आफ्नै श्रीमानको हत्या गरिन् । हत्या आरोपमा सप्तरीको कञ्चनरूप नगरपालिका–३ दास टोलकी कोशिलादेवी दासलाई प्रहरीले नियन्त्रणमा लियो ।ती महिलाले श्रीमान शिवशंकर दासको नाममा रहेको बीमा पाउने लोभमा करेन्ट लगाएर आफ्नै श्रीमानको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । श्रीमती र नातामा भाउजू पर्ने शान्तिदेवी दासको सहयोगमा शिवशंकरको हत्या गरिएको प्रहरीले बताएको प्रहरीले बताएको थियो । उनीहरूले प्रहरीसमक्ष ऋण चुक्ता गर्न र छोरीको विवाह गर्न दासको हत्या गरेको बयान दिइएको प्रहरीले बताइएको थियो ।

 

शिवशंकर र कोशिलादेवीले छोरीको विवाह गर्न र बिमा गराउनका लागि भाउजू नाता पर्ने शान्तिदेवीसँग ऋण लिएको र ऋण तिर्ने समयमा आनाकानी गर्न थालेपछि शान्तिदेवीले केशिलालाई हत्या गरेर बीमाको रकम उठाउन सुझाएको देखिएको प्रहरीको भनाई थियो ।गत कात्तिक ५ गते शान्तिदेवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर घरतर्फ पठाएपछि भान्छा कोठामा सुतेका उनलाई बायाँ हातको साहिँली औँलामा तार बेरेर करेन्ट लगाइ हत्या गरेको प्रहरी समक्ष स्विकारेकी थिईन् । हत्यामा संलग्न कोशिलादेवी र शान्तिदेवीलाई प्रहरीले गत चैत १५ गते नियन्त्रणमा लिएर सार्वजनिक गरेको थियो ।

 

माथि उल्लेखित घटना केही प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय बीमा रकमा लिनकै लागि व्यक्ति हत्या गर्नेको संख्या बढेको छ । अहिले नजिकका आफन्त वा घरपरिवारबाट यस्तो कार्य हुने गरेको पाइएको छ ।यस्ता अपराध केही समययता बढ्दो क्रममा छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद ५ को दफा ३ मा स्पष्ट भनिएको छ, ‘क्रूर यातना, निर्ममतापूर्वक, वायुयान अपहरण वा वायुयान विष्फोट, खाद्य पदार्थमा विष हाली वा जबरजस्ती करणी गरी ज्यान मारेको अवस्थामा कसूरदारलाई जन्मकैद सजाय गर्दा त्यस्तो कसूरदार जीवित रहेसम्म कैद गर्नुपर्ने छ ।’

 

कानूनमा कसैले पनि अरुको ज्यान लिन पाउँदैन । यस्तो अपराध गरेको खण्डमा दोषीलाई जन्मकैदसम्मको सजाय हुन्छ । तर, जन्मकैदजस्ता कानूनी सजायका बाबजुद् रकमका लागि व्यक्तिहरुले आफन्त, साथीभाई वा परिवारका सदस्यहरुको योजनाबद्ध रुपले हत्या गर्ने गरेको पाइएको छ ।मानिसहरु आर्थिक प्रलोभनमा परेर सजिलै रकम प्राप्त गर्न सकिने मनासयले यस्ता अपराधमा संलग्न हुने गरेको नेपाल प्रहरीले गरेको अनुसन्धानबाट खुल्न आएको छ । मानिसलाई काम गर्न गाह्रो हुने तर, काम नै नगरी सजिलै रकम आउने भएपछि गलत उद्देश्यका साथ मानिसहरु यस्तो जघन्य अपराधमा फसेको प्रहरी अधिकृतहरु बताउँछन् ।

 

यस्ता जघन्य अपराधमा व्यक्ति मात्र दोषी नभई बीमा कम्पनीको लापरबाहीले पनि हुने गरेको पाइएको छ । केही बीमा कम्पनीले बीमा गर्ने क्रममा कानूनी प्रावधान अनुसार वा अनुगमन नै नगरी बीमा गर्ने भएकाले यस्तो दुःखद् अवस्था सिर्जना हुने गरेको प्रहरी अधिकृतहरु बताउँछन् ।बीमा कम्पनीले कानूनी व्यवस्था, कानुनी प्रावधान पूरा गरेर मात्र बीमा कम्पनीहरुले बीमा गर्नुपर्ने देखिएको छ । तथापि यस्ता अपराध निवारणका लागि नागरिक आफैँ पनि सचेत हुनुपर्ने देखिएको छ । बीमा कम्पनीको लापरबाहीका कारण यस्तो घटना भएको देखिएमा उनीहरुलाई सचेत गराउनुका साथै अपराधको प्रकृतिअनुसार कानूनी कारबाहीसमेत प्राधिकरणले गर्दै आइरहेको छ ।

 

यस्ता घटनाहरु कम गर्न कानूनी प्रावधान पूरा गरेर मात्र बीमा कम्पनीहरुले बीमा गर्नुपर्ने देखिएको छ ।हाल देशभर ३५ वटा बीमा कम्पनीले प्राधिकरणबाट इजाजत प्राप्त गरेका छन् । तीमध्ये १७ वटा जीवन बीमा, १६ वटा र्निजीवन बीमा र २ वटा पुनर्बिमा हुन् ।

 

Share: