लक्षित वर्गलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन महानगरपालिको अस्पतालहरुलाई निर्देशन

Share:

काठमान्डौ/काठमाडौं महानगरपालिकाले लक्षित वर्गलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन महानगरपालिका क्षेत्रभित्र रहेका अस्पतालहरुलाई निर्देशन दिएको छ ।महानगरको स्वास्थ्य विभागले सूचना प्रकाशित गर्दै महानगरपालिका क्षेत्रभित्र रहेका केन्द्र, प्रादेशिक, स्थानीय सबै प्रकारका स्वास्थ्य संस्थाहरुले प्रचलित कानुन र मापदण्डअनुसार लक्षित वर्गहरुलाइ नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन भनेको हो ।

 

महानगरले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालहरुले प्रचलित कानुन र मापदण्डअनुसार लक्षित वर्गहरुलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राही मैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुको प्रचलित कानुनले तोकेको न्यूनतम परिश्रमिक उपलब्ध गराउने, स्वास्थ्य जन्य फोहोरमैल व्यवस्थापन गर्नेलगायतका विषयहरुमा निर्णय भएकाले सबै अस्पतालहरुलाई सो पालना गर्न निर्देशन दिएको हो ।

 

सूचनाकाअनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को परिच्छेद २४ को दफा ७० (घ)मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याएर नि:शुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था भएकाले महानगरभित्रका अस्पतालहरुले पनि सो लागु गर्नुपर्ने छ ।महानगरले लक्षित वर्गले नि:शुल्क सेवा लिएका व्यक्तिहरुको विवरण टाँस गर्ने लगायतका कार्य पनि गर्न र त्यसो नगरेको पाइएमा महानगरको नियमअनुसार कारबाही हुने पनि सूचनामा जनाएको छ ।

 

Share: