जथाभाबी स्वास्थ्य उपकरण किन्ने अस्पताललाई स्पष्टीकरण सोधिने

153
0
Share:

काठमान्डौ/सरकारले जथाभाबी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई स्पष्टीकरण सोध्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने बताएका हुन् ।

 

दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका सामानहरू स्वास्थ्य सेवा विभागले फिर्ता लिइ आवश्यकता अनुसार अरु अस्पतालहरूमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने उनले बताए । उनले कतिपय अस्पतालले जथाभाबी रूपमा स्वास्थ्य उपकरण खरिद गरेको पाइएको भन्दै अब खरिद गर्दा न्यूनतम सेवा मापदण्डले औँल्याए अनुसारका उपकरणहरू मन्त्रालयको समन्वयमा खरिद गर्ने व्यवस्था लागू गर्ने बताए ।

 

प्रत्येक अस्पताललाई आउँदा दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने बताउँदै उनले स्वास्थ्य सेवा विभागलाई खरिद एवं वितरण गर्न थप व्यवस्थित गर्न निर्देशन दिएका छन् ।

Share: