बोक्सी प्रथा अझै कायम, दुई वर्षमा ७८ घटना सार्वजनिक

Share:

प्रमिला घिसिङ :- काठमान्डौ/२०७८ असार १ गते रौतहटकी ६५ वर्षीय वृद्धामाथि बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट भयो । कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको शरिरका विभिन्न ठाउँमा घाउचोट लागेको र करिब तीन सय टाँका लगाएर उपचार गरिएको थियो । उपचारपछि महिला सामान्यवस्थामा फर्किएकी थिइन् ।

 

माधव नारायण नगरपालिका-५, मिठुअवा गाउँकी ६५ वर्षीया श्रीपतीदेवीलाई छिमेकी सन्दीप महरासहितले महिलामाथि बोक्सीको आरोप लगाउँदै आक्रमण गरेको थियो । महिलाको श्रीमान्को पहिले नै मृत्यु भइसकेको र सशस्त्र द्वन्द्वको समयमा छोराको पनि मृत्यु भएपछि सन्दीपको परिवारले महिलामाथि बोक्सीको आरोप लगाउँदै विभिन्न समयमा कुटपिट गर्ने गर्दथे ।

 

 

घटनाका मुख्य आरोपी सन्दीप महरा श्रीपतीदेवीको कुटपिटपछि फरार भएका थिए घटना भएकौ तीनपछि उनलाई इलाका प्रहरी कार्यालय गरुडाले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरी जेल चलान गरेको थियो । त्यस्तै २०७८ जेठ २६ गते महोत्तरीमा दुई महिलालाई बोक्सीको आरोप लगाई निर्घात कुटपिट गरियो । जलेश्वर नगरपालिका– ६ धवौलीनिवासी ५३ वर्षीया कालो देवी र ५४ वर्षीया दुलरिया देवीलाई बोक्सीको आरोपमा एकजना स्थानीयको परिवारले लगाएको चोलोसमेत च्यातेर नांगेझार पार्दै निर्मम कुटपिट गर्याे ।

 

स्थानीय तलेवर राम र भुलन रामको परिवारले घरमा नयाँ बुहारी भित्र्याएका थिए । नयाँ बुहारीलाई बोक्सी लागेको आरोपमा उनीहरुले दुई महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको थियो । तथापि ती पीडित महिलाहरूलाई खुवाउन मलमूत्र घोलेर राखे पनि ती महिलाहरू मलमूत्र खानबाट भने जोगिएका थिए ।

 

बेहुली घरमा प्रवेश गरेदेखि भूत लागेको भन्दै कालो देवीलाई भूत भगाइदिन भनेर तलेवर रामका परिवारले उनकै घरमै बोलाएका थिए । कालो देवीले मलाई भुत भगाउन आउँदैन भनेपछि तलेवरकी बुहारी सोमारी देवी जिउमा देउता आएको भन्दै काम्न थालेकी थिइन् । यसैले भूत लगाइदिएको भन्दै कालो देवीको कपडासमेत च्यातचुत पार्दै उनलाई परिवारका आठ–दशजनाको समूहले लछारपछार पार्दै कुटपिट गरे । दुई महिलालाई निर्घात कुटपिट गरी सख्त घाइते बनाएको आरोपमा तलेवर रामसहित १० जनालाई जिल्ला प्रहरी कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहटको आदेशपछि जेल चलान गरेको थियो । माथि प्रस्तुत गरेको घटना त केवल प्रतिनिधि घटना मात्र हो । महिलामाथि हुने यस्ता जघन्य अपराधमा महिलालाई कति यातना, पिडा दिने गर्दछ यि घटनाहरुले देखाउँदछ ।

 

विश्व एक्काइसौं शताब्दीमा हिँँडिरहेको छ तर नेपालको हकमा भने महिलामाथि हुने हिंसाले नेपाल अझै १८औँ शताब्दीमा रहेको झल्को दिन्छ । राज्यले शिक्षा, स्वास्थ्यदेखि राजनीतिको उच्च ओहोदासम्म महिलालाई प्रमुखको रुपमा पाइसक्दा पनि नेपालको अवस्था भने १८औं शताव्दी झै छ ।

 

महिला भएकै कारण उनीहरुमाथि लगाइने बोक्सीको आरोप, दुर्व्यवहारका कारण नेपाली महिला सामाजिक, मानसिक तथा यौनिक हिंसाबाट पीडित र प्रभावित हुनु परेको छ । यही दुर्व्यवहारका कारण कतिले अल्पायुमै ज्यान गुमाउनु परेको छ भने कति जना विस्थापित हुनु परेको छ ।

 

दुई वर्षमा ७८ घटना दर्ता, धेरै मधेशमा 

नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष २०७८र२०७९ मा मात्र ४९ वटा बोक्सी आरोपका घटनाहरु दर्ता भएका छन्, जसमा सबैभन्दा बढी मधेस प्रदेशमा मात्र २८ वटा घटना दर्ता भए । यसैगरी कोशी प्रदेशमा ५, बागमती प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशममा २ तथा सुदूरपश्चिममा २ घटना दर्ता भए। जसमध्ये ४५ वटा घटनाका दोषीलाई कारबाही गरी प्रक्रियामा आए । भने, अन्य ४ घटना कारबाहीको प्रक्रियामा रहेको प्रहरी तथ्यांकले देखाएको छ ।

 

यसैगरी २०७९ को माघ मसान्तसम्म २९ बोक्सी आरोपका घटनाहरु प्रहरीसमक्ष दर्ता भएका छन्, जहाँ मधेस प्रदेशमा १९, बागमती प्रदेशमा ४, गण्डकी प्रदेशमा १, लुम्बिनीमा ३, कर्णालीमा १ तथा सुदुरपश्चिममा १ बोक्सी आरोपका घटना दर्ता भए। ती सबै घटनाका आरोपीहरु कारबाहीको प्रक्रियामा आएका छन् ।

 

के हुन्छ सजाय ?

 

बोक्सीको आरोप (कसुर र सजाए) ऐन, २०७२ अनुसार कुनै व्यक्तिलाई बोक्सीको आरोपमा कुटपिट गर्ने, डाम्ने, खोप्ने, पोल्ने, रासायनिक तथा विषालु जैविक पदार्थको प्रयोग गरी वा अन्य किसिमले याताना दिने, मलमुत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारेर वा नपारेर कुनै ठाउँ घुमाउने वा अन्य कुनै किसिमले क्रुर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने तथा मानसिक यातना दिनोई ५ देखि ८ वर्षसम्मको कैद सजाय र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानको व्यवस्था गरिएको छ ।

 

किन हुन्छन् तराईमा बोक्सी आरोपका धेरै घटना

 

पितृसत्तात्मक व्यवस्था तथा परम्परादेखि चलिआएको पारिवारिक मूल्य, मान्यता र सम्मानलाई निरन्तरता दिइने तराईमा बोक्सी आरोपका घटनाहरु बढी हुने अधिकारकर्मीहरु बताउँछन् । यस्तै मधेशमा चाडबाडको समयमा बोक्सीहरु बढी हावी हुन्छन् भन्ने सामाजिक मान्यताका कारण तराईमा अझै पनि यस्ता घटनाहरु हुँदै आएको बताउँछन् । प्रहरीको तथ्यांकमा बोक्सीको आरोप लगाई महिलालाई गर्ने हिंसाको स्वरुपहरुलाई हेर्दा सबैभन्दा बढी कुटपिट गर्ने गरेको पाइएको छ । कुटपिट गर्ने आफ्नै परिवारका सदस्य, नातेदार, छिमेकीहरु बढी पाइएका छन् ।

 

पितृसत्तात्मक सोच, अन्धविश्वास र कुरीतिलाई बढावा दिँदै महिलालाई विभेदपूर्ण व्यवहार गर्ने हाम्रो समाजले महिलाको अस्तित्वलाई नै स्विकार्न नसकेका कारण उब्जिकएको परिणमाले यस्तो हिंसाको रुप लिएको हो ।

 

महिलालाई समाजमा आत्मविश्वास कमजोर बनाई समाजमा आफ्नो प्रभुत्व कायम राख्नका लागि शक्ति सम्पन्न व्यक्ति, जाती र वर्गहरुले एकल महिला, अशक्त महिलाहरुमाथि यस्तो आरोप लगाउँदै आएको छ । यस्तो आरोपमा महिलालाई शारिरिक तथा मानसिक यातना दिने व्यक्तिहरुलाई कानुनले उचित सजायको व्यवस्था गरेपनि नेपालमा यस्ता घटनाहरु अझ निर्मूल हुन सकेको छैन । कानुन बन्यो तर यसको उचित पालना नभएकै कारण नेपालमा अझै यस्ता जघन्य अपराधहरु घट्न नसकेको अधिकारकर्मीहरु बताउँछन् ।

 

महिलाविरुद्ध हुने धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा वा अन्य आधारमा शारीरिक मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य हुँदा स्थानीय रुपमा नै घटनाको टुंगो लगाउने प्रचलन रहेको छ । जसकारण २१औँ शताब्दीमा आइपुग्दा समेत महिलाले बोक्सीको आरोपमा विभिन्न अत्याचार भोगिरहेका छन्, जसमा मधेस प्रदेशमा सबैभन्दा धेरै बोक्सी आरोपका घटनाहरु हुन्छन् ।

 

विभिन्न विदेशी तथा स्वदेशी संघ, संस्थाहरुले हरेक वर्ष महिला विरुद्ध हुने घटना निर्मूल गर्न लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलाउँदै आएका छन् । हरेक वर्ष १६ दिने अभियान चलाएपनि कानुनको पालनामा फितलो भएकै कारण नेपालमा यस्तो घटना केही मात्रामा घटेपनि अझै पूर्णरुपमा न्यूनिकरण हुन भने सकेको छैन ।

Share: