नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

Share:

काठमान्डौ/जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।

 

सोमबार कुनै ठूलो ग्रन्थको ठेलीजत्रै प्रतिवेदन लिएर प्रहरी टोली सरकारी वकिलको कार्यालयमा प्रवेश गरेको हो । प्रहरीले आरोपपत्रसहितको प्रतिवेदन बुझाएको हो ।

 

सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले दिएको जानकारीअनुसार अहिले प्रहरीले बुझाएको प्रतिवेदन बुझ्ने काम भइरहेको छ । प्रहरीले पक्राउ गरेका १६ जनासहित ३२ जनाविरुद्ध २७ करोड बिगोसहित जरिबाना गर्नुपर्ने उल्लेख गर्दै प्रतिवेदन तयार पारेको छ ।

 

नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान सक्रिय गिरोहविरुद्ध प्रहरीले अभियान चलाएको थियो । सो मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित १६ जना पक्राउ परेका छन् ।

 

बाँकी फरार रहेका १६ जनाविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

Share: