बलात्कार आरोपमा पक्राउ परेका उपप्राध्यापकलाई ५ दिन थुनामा राख्न अनुमति

Share:

काठमान्डौ/बलात्कार आरोपमा पक्राउ परेका देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतमलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

 

५५ वर्षीय पूर्व क्याम्पस प्रमुखसमेत रहेका गौतमले आइतबार दिउँसो जागिरको प्रलोभनमा पारी एक छात्रामाथि बलात्कार गरेको आरोप लागेको थियो । लमही नगरपालिका वडा नं-५ स्थित रातोडाँडामा विगत दुई वर्षदेखि कोठा भाडामा बसेर लमही-३ वनगाउँको एक टेक्निकल कलेजमा पढ्दै आएकी छात्रालाई घरमै बोलाएर क्याम्पस सञ्चालक समितिका कोषाध्यक्षसमेत रहेका गौतमले बलात्कार गरेको पीडितले किटानी जाहेरी दिएकी थिइन् ।

 

आइतबार नै पीडित छात्रा वडा प्रहरी कार्यालय लमहीमा पुगेर गौतमविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जाहेरीपछि प्रहरीले लमही-५ रातोडाँडास्थित गौतमको घरबाटै उनलाई राति नियन्त्रणमा लिएको थियो।

Share: