
काठमान्डौ/चितवनको भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो । यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ । ‘राम्रो प्रतिफल दिने किसानलाई पुरस्कृत गरिनेछ, १७ समूहलाई रु दुई लाखका दरले वितरण गरिनेछ’, उहाँले भन्नुभयो ।
भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताउनुभयो । निर्वाहमुखी कृषक कार्यक्रममार्फत ९० जनाले दुई वटाका दरले बाख्रा पाउने जानकारी दिनुभयो । उहाँले महानगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।