
काठमान्डौ/अवैध लागुऔषध खैरो हेरोइन कारोबार गर्ने गिरोहमा संलग्नको आरोपमा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हेरोइन कारोबार गर्ने गिरोहमा संलग्नको आरोपमा विभिन्न मितिमा पक्राउ गरेका ६ जनालाई शनिबार सार्वजनिक गरेको छ ।
प्रहरीले ९ जेठमा काठमाडौंको बौद्ध टुसालस्थित एक होटलबाट २० ग्राम खैरो हेरोइन, एउटा डिजिटल तराजु, ७ लाख ४० हजार नेपाली रुपैयाँसहित झापाका २७ वर्षीय किरण कन्दङ्वालाई पक्राउ गरेको थियो ।त्यस्तै १ज्ञ जेठमा काठमाडौं महानगरपालिका–९ बाट ९४ ग्राम खैरो हेरोइनसहित झापाकै २८ वर्षका विजय लिम्बू, झापाकै चन्द्रगढीबाट मेची नगरपालिकाका २९ वर्षका माधव मेचे र विनोद लिम्बूलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।
उनका अनुसार जेठ १२ गते झापाको भद्रपुर नगरपालिकाबाट १९४ ग्राम ५४० मिलिग्राम खैरो हेरोइनसहित भारतको दार्जिलिङका २२ वर्षका शिव घोष र २६ वर्षकी श्यामला सोरेन पनि पक्राउ परेका छन् ।प्रहरीले तीन किलो ६०० ग्राम चरेससहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ४२ वर्षका तेम्बा शेर्पालाई पनि पक्रेको छ । उनलाई जेठ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड जाने क्रममा पक्राउ गरेको व्यूरोले जनाएको छ ।