संसदमा प्रधानमन्त्रीले भने : भारत भ्रमणमा विद्युत निर्यातको आधार बनाइनेछ

130
0
Share:

काठमाडौं /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठदेखि हुने आफ्नो भारत भ्रमणको विषयमा प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।सोमबार साँझ बसेको प्रतनिधिसभाको बैठकमा बोल्दै उनले यसपटकको भ्रमणमा जलविद्युत निर्यातको आधार तयार गर्ने बताएका छन् ।‘जलविद्युत निर्यातको आधार सुनिश्चित गर्नु प्राथमिकताको विषय हुनेछ । बंगलादेशमा विजुली निर्यातको विषयमा यसपटक कुराकानी हुनेछ’ उनले भने ।

नेपाल भारत सहकार्यका लागि जलविद्युत महत्वपूर्ण विषय हो भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालको हित सुनिश्चित हुने गरी भारतीय लगानी भित्र्याउने विषयमा पनि छलफल हुने बताए ।पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा पनि लामो समयदेखि प्रगति हुन नसकेको भन्दै उनले महाकालीको पानी समान र साझा रुपमा वितरण हुने गरी पञ्चेश्वरबारे छलफल गरिने बताए ।

त्यस्तै सीमा समस्यालगायतका कतिपय विषय सम्बोधनका लागि विश्वासको वातावरण बनाउने पनि उनले बताए । ‘सीमा समस्या लगायत कतिपय विषय सम्बोधन गर्न ठोस विश्वासको वातावरण बनाउने गरी छलफल अगाडि बढाइनेछ’ संसदमा प्रधानमन्त्री प्रचण्डले भने ।भ्रमणका क्रममा भारतको इन्दोरमा फोहोर व्यवस्थापन परियोजनाको अवलोकन गर्ने पनि बताए । त्यस्तै त्यहाँको आईटी पार्कको अवलोकन पनि गर्ने उनले बताए ।

Share: