
काठमान्डौ/शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (बिहीबार) तीन खेल हुँदैछ । दिउँसो ३ बजे दशरथ रङ्गशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
२२ खेलमा २९ अंकसहित आठौँ स्थानमा रहेको एनआरटी आठौँ जितको खोजीमा रहँदा पुलिस दशौँ जितको योजनामा छ । पुलिस २२ खेलमा ३१ अङ्क जोडेर चौथो स्थानमा छ । रङ्गशालामा साँझ ६ बजे हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटार आमनेसामने हुनेछन् ।
२२ खेलमा २८ अङ्क जोडेर दशौँ स्थानमा रहेको मनाङ सातौँ जित निकाल्न चाहन्छ । २२ खेलमा २४ अङ्क जोडेर पुछारमा रहेको खुमलटार आठौँ जितको खोजीमा हुनेछ । यस्तै च्यासल खेल मैदानमा दिउँसो ३ बजेदेखि फ्रेण्ड्स क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् ।
२२ खेलमा २४ अङ्क जोडेर १३ औँ स्थानमा रहेको फ्रेण्ड्स सातौँ जितको खोजीमा हुनेछ । २२ खेलमा २९ अंकसहित नवौँ स्थानमा रहेको हिमालयन आठौँ जित निकाल्ने योजनामा रहनेछ ।