एमालेको सचिवालय बैठक जारी , वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने कार्यसूची

124
0
Share:

काठमान्डौ/नेकपा (एमाले)को सचिवालय बैठक अहिले बसिरहेको छ।पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक जारी छ।आजको बैठकले वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने कार्यसूची छ।एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्नेछ।वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरेको थियो।

 

गत फागुनदेखि वैशाखसम्म चलेको ‘मिसन ग्रासरूट’ अभियान प्रभावकारी भएकाले थप एक वर्षसम्म केन्द्रीय सदस्यहरूलाई त्यसरी परिचालन गर्ने केन्द्रीय कमिटीको निष्कर्ष थियो।त्यस्तै केन्द्रीय कमिटी बैठकले वार्षिक कार्ययोजना बनाएर केन्द्रीय नेताहरूलाई कार्यक्षेत्रमा खटाउने निर्णय गरेको थियो।एमालेले २०८० चैत मसान्तभित्रमा सबै तहगत कमिटीका अधिवेशन सक्ने कार्ययोजना बनाएको छ। त्यस्तै असार १ गतेदेखि ‘मिसन ग्रासरूट’ थप विस्तार गर्ने लक्ष्यसहित संगठन सुदृढीकरण र परिचालनको नयाँ कार्ययोजना पनि एमालेले बनाइरहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। आजको बैठकले त्यसलाई अन्तिम रूप दिनेछ।

 

शुक्रबार बस्ने बैठकले सचिवालयको बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरूलाई यसअघि तोकिएको भूगोलभन्दा फरक ठाउँमा कार्यक्षेत्र रहनेगरी जिम्मेवारी दिनेछ।नेकपा (एमाले)मा १९ सदस्यीय सचिवालय छ। त्यसमध्ये सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कारण निलम्बनमा छन्।

 

Share: