कोशीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने माओवादीको तयारी

175
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ । आज (सोमबार)विराटनगरस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले जानकारी दिए ।

 

बैठकले नयाँ सरकार गठनको पहल थाल्न माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोको संयोजकत्वमा समिति पनि गठन गर्ने निर्णय गरेको छ । समितिका अन्य सदस्यहरूबारे भने कुनै जानकारी दिइएको छैन ।

 

कोशी प्रदेशमा हाल एमाले नेतृत्वको सरकार छ । जसमा मुख्य घटक माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्रले सरकार छाडेको अवस्थामा हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकार अल्पमतमा पर्नेछ । सत्तारुढ गठबन्धनमा आबद्ध रहेको जसपाले प्रदेश सकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । कोशी प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली काँग्रेसका २९,माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।

Share: