वैदेशिक रोजगारीको नाममा मानव तस्करी बढ्दो

Share:

प्रमिला घिसिङ:-काठमान्डौ/०७७ मा नेपालबाट इन्डोनेसियाको राजधानी जर्काता र बालीमा पुगेर बन्धक बनेका चार नेपालीलाई प्रहरीले उद्दार गर्याे । उनीहरुलाई दलालको गिरोहले अस्ट्रेलिया लैजाने भन्दै सोही ठाउँमा लगेर १० महिनासम्म बन्धक बनाइएको थियो । प्रहरी र विभिन्न संघ संस्थाको सहयोगमा उनीहरुको १० महिनापछि प्रहरीले उद्दार गरिएको थियो ।

 

पछिल्लो समय नेपालमा मानव बेचबिखनका घटनाहरु दिन प्रतिदिन बढ्दो अवस्थामा छन् । गरिबी, अशिक्षा, नेपालमा देखिएको बेरोजगारी र आर्थिक मन्दि जस्ता समस्याले ग्रस्त नेपालीहरु ठगि धन्दामा सक्रिय गिरोहका विभिन्न प्रलोभनमा परेर बेचबिखनमा पर्ने गरेका छन् । त्यस्तै, सरकारको कमजोर प्रस्तुति र सम्बन्धित निकायहरुसँग समन्वयको अभाव तथा देशभित्र रोजगारीका अवसर नहुँदा वैदेशिक रोजगारीका नाममा मानव तस्करीका घटना बढ्दै गएको सरोकारवालाहरु बताउँछन् ।

 

राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा मानव बेचबिखनको अवस्था भयावह बन्दै गइरहेको छ । विभिन्न अध्ययन अनुसन्धानले नेपालमा तयार पारेको प्रतिवेदन हेर्ने हो भने वार्षिक १५ हजार महिला, बालबालिका तथा पुरुषहरुको बेचबिखन हुने गरेको छ । यसले के देखाउँछ भने नेपालमा मानव बेचबिखन विरुद्धको अभियानको तीन दशक बितिसक्दा पनि नेपालमा मानव बेचबिखनका घटनामा कमी नआएको देखिन्छ ।

 

पछिल्लो समय मानव बेचबिखनका घटनाहरुको स्वरुप, प्रवृत्ति र शौलीमा व्यापक रुपान्तर आएको आयोगको अध्ययनमा उल्लेख छ । वैदेशिक रोजगारी, शौक्षिक परामर्श, अन्तरदेशीय विवाह, पर्यटन तथा सांस्कृतिक कार्यक्रम, धर्मपुत्र वा धर्मपुत्री लगायतका विभिन्न नाममा बेचबिखनको घटना बढ्दै गएको आयोगको ठहर छ ।

 

मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण र सजाय गर्ने ऐन (२०६४) का अनुसार नेपालमा विद्यामान वैदेशिक रोजगारीका नाममा मानव बेचबेखिन तथा ओसारपसारका घटनाले विकराल रुप लिँदै गएको र वैदेशिक रोजगारी ऐनमा मानव बेचबिखनको प्रावधानलाई उल्लेख नगरिएका कारण धेरै मानव बेचबिखनका घटना कानुनी दायराको अभिलेखीकरण बाहिर रहेको आयोगको प्रतिवेदनमा उल्लेख गरेको छ ।

 

कतिपय घटनामा मानव तस्करहरुले बेचविखन गर्ने उद्देश्य राख्दै विदेशी नागरिकसँग विवाह समेत गराइदिएको तथ्य बाहिर आएको छ । यसरी विवाहपछि वीरगञ्ज नाका हुँदै भारतीय राजधानी दिल्लीलगायत ठूला सहरमा पुर्याएर जबरजस्ती अनैतिक तथा गैरकानूनी कार्यमा लगाउने गरेको पनि पाइएको छ ।

 

विकराल बन्दै मानव बेचबिखन, यस्तो छ पाँच वर्षको तथ्यांक

नेपाल प्रहरीको आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कले मानव बेचविखन तथा ओसारपसारका १ सय ३४ मुद्दा प्रहरीमा दर्ता भएको देखाउँछ । त्यस्तै, मानव बेचविखन तथा ओसारपसारमा संलग्न १ सय ११ पुरुष र ५१ महिला पक्राउ परेका छन् । सोही समयमा ९१ पुरुष र ४४ महिला फरार भएको, २ सय २ पुरुष र ९५ महिला मानव बेचविखनमा अभियुक्त तथा दोषी ठहर भएको र ४ पुरुष र १ सय ८३ महिला पीडित भएको तथ्याकंले देखाउँछ ।

 

त्यस्तै, आर्थिक २०७८/०८९ मा भने १ सय ४२ मुद्दा दर्ता भएका छन् । जसमा ११ पुरुष र २०० महिला पीडित पाइएको छ भने २ सय ९ पुरुष र ७५ महिला दोषी ठहर भएका हुन् । सोही समयमा प्रहरीले १ सय २९ पुरुष र ४६ महिलालाई पक्राउ गरेको छ भने ७० पुरुष र २९ महिला फरारको सूचीमा छन् ।

 

चालु आर्थिक वर्ष २०७९/०८० को माघ मसान्तसम्म मानव बेचविखन तथा ओसारपसारका ८१ मुद्दा मात्र प्रहरीमा दर्ता भएको देखिन्छ । यो अवधिमा त्यस्ता कार्यमा संलग्न ७३ पुरुष र ३८ महिला पक्राउ परेका छन् भने ३८ पुरुष र २४ महिला फरार छन् । यसैगरी १ सय ११ पुरुष र ६२ महिला दोषी ठहर भएकोमा ११ पुरुष र १ सय ३ महिला पीडित रहेको पाइएको छ ।

यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा मानव बेचविखन तथा ओसारपसारका घटनामा १८ वर्ष मुनिका १ बालक र ८२ बालिका (कुल संख्या ८३) र १८ वर्ष माथिका १० पुरुष र १ सय १८ महिला (कुल संख्या १२८) पीडित भएका हुन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म भने यो संख्यामा सामान्य कमी आएको छ । उक्त समयमा १८ वर्ष मुनिका १ बालक र ३९ बालिका (कुल संख्या ४०) र १८ वर्ष माथिका १० पुरुष र ६४ महिला (कुल संख्या ७४) जना पीडित छन् ।

 

मानव बेचविखन सभ्य समाजले परापूर्वकालदेखि अस्वीकार गरी आएको फौजदारी कसुर हो । मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ को उपदफा (१) अनुसार कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानूनबमोजिम बाहेक मानिसको अंग झिक्ने, वेश्यागमन गर्नुलाई मानव बेचविखन तथा ओसारपसार मानिन्छ ।

 

साथै, सोही ऐनको उपदफा (२) मा कसैले किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, प्रपञ्ज मिलाई, जबरजस्ती गरी, अपहरण गरी, शरीर बन्धक राख्नेलगायत कार्यमा बन्देज लगाइएको छ ।

 

नेपालको संविधानको मौलिक हकअन्तर्गतको धारा २९ मा कसैलाई पनि बेचविखन गर्न, दास वा बन्धक बनाउन पाईंदैन । साथै, कसैलाई पनि उसको इच्छाविरुद्धको काममा लगाउन नपाइने बारे पनि स्पष्ट पारिएको छ । तर, सीमित व्यक्तिले आफ्नो फाइदाको निम्ति कानूनको पालना नगरी त्यस्ता गैरकानूनी कार्यहरु गर्दै आएका छन् ।

यस्तो भन्छ प्रहरी

नेपालीहरु रोजगारीका विभिन्न प्रलोभनमा परी मानव बेचबिखन गर्ने गिरोहसम्म पुग्ने गरेको प्रहरीहरु बताउँछन् । नेपाल प्रहरीको मानव बेचबिखन व्यूरोमा कार्यरत एसपी जीवन श्रेष्ठका अनूसार नेपालबाट विभिन्न देशहरुमा काम लगाइदिने नाममा बढी बेचबिखन हुने गरेको बताउँछन् ।

 

‘यहाँबाट युवालाई धेरै पैसा कमाइ हुने ठाउँमा काम लगाइदिने लगायत विभिन्न प्रलोभन देखाइ मलेसियालगायत खाडी मुलुक, इराक, लिबिया, अफ्रिका, अमेरिका, अस्ट्रेलिया, जपान, सिरिया, ओमन, तजकिस्तान तथा युरोपियन देशहरुसम्म पु¥याउने र अलपत्र पार्ने गरेको पाइएको छ,’ उनले भने ।

Share: