पाँच दिनपछि भेटियो सुनकोशीमा खसेको सरकारी गाडी र २ वटा शव

Share:

काठमान्डौ/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का निर्देशकसहित सुनकोशी नदीमा खसेको गाडी पाँच दिनपछि फेला परेको छ । गाडीसँगै २ वटा शव पनि भेटिएको छ ।

 

सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जीप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

 

गाडीसँगै २ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) राजकुमार सिलवालले बताए । सिलवालका अनुसार सीटीईभीटीका निर्देशक कृष्ण केसी र विद्युत् प्राविधिक भानु पौडेलको शव भेटिएको हो । अर्का एक निर्देशक भने अझै फेला परेका छैनन् ।

 

त्यो गाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेना, नेपाल प्रहरीलगायतले खोजिरहेका थिए । तर फेला पार्न नसकेपछि सुनकोशीको पानीको भंगालोलाई नै अर्कोतिर पठाएर खोजी गरिएको थियो ।

Share: