
काठमान्डौ/शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार अन्तिम चरणको खेल आज शुरु हुँदैछ । लिगको अन्तिम चरण अन्तर्गत शुक्रबार चार खेलहरू हुँदैछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । त्यस्तै एक खेल एन्फा कम्पेल्क्स र एक खेल च्यासल मैदानमा हुनेछ ।
दशरथ रङ्गशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एपीएफ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। २५ खेलबाट ३० अङ्क जोडेर ११औँ स्थानमा रहेको एपीएफलाई रेलिगेसनबाट जोगिन कम्तीमा बराबरीको नतिजा आवश्यकता छ। २५ खेलबाट २७ अङ्क जोडेर १३औँ स्थानमा रहेको फ्रेण्ड्सलाई पनि रेलिगेसनबाट जोगिन जित्नैपर्ने दबाब छ।
यस्तै दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा एफसी खुमलटार र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। २५ खेलमा २७ अङ्क जोडेर पुछारमा रहेको खुमलटार रेलिगेसनबाट जोगिन चर्च ब्वाईजलाई जित्नैपर्ने दबाबमा छ। चर्च ब्वाइज भने एक खेल अगावै च्याम्पियन बनिसकेको छ।
च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन्। पुलिस २५ खेलमा ३८ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने सातदोबाटो २५ खेलमा ३५ अङ्क पाँचौँ स्थानमा छ।
दशरथ रङ्गशालामा साँझ ६ बजे हुने दोस्रो खेलमा त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी २५ खेलमा ३१ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ भने हिमालयन २५ खेलमा ३१ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ।