
काठमान्डौ/गत वर्षको स्थानीय चुनाव २०७९ मा सबैको ध्यान तानेका र चर्चित पात्र हुन् धरानका हर्कराज साम्पाङ (हकर्) राई । करिब १० वर्षदेखि धरानका जनसरोकारका मुद्दा उठाएर आन्दोलन गरिरहेका थिए हर्क । कहिले खानेपानीको, कहिले स्वास्थ्य संस्थानमा भएका विकृतिको, कहिले बेरोजगारी, कहिले सरकारी सेवा– सुविधाका बारेमा राईले निरन्तर आवाज उठाउदै आएका थिए । उनी विगत लामो समयदेखि धरानका विभिन्न समस्या समाधान गर्न आफ्नो परवाह नै गरी नगरी आफ्नो कर्तव्यबाट हटेनन् ।
उनी धरानका समस्यालाई पन्छाउनका लागि एक्लै भए पनि लडिरहे, आन्दोलन गरिरहे । यहाँसम्म आइपुग्न निकै संघर्ष गरेका साम्पाङ सधैं प्रश्न गर्ने ठाउँमा थिए तर आज उनी उत्तर दिने ठाउँमा पुगिसकेका छन् । चुनावको प्रचारप्रसार गर्न उनी एक्लै कुदिरहे । उनका अघि९पछि न कुनै कार्यकर्ता र न आम जनता नै थिए । उनी एक्लै अटो भाडामा लिएर धरानका समस्या र समाधानका बारेमा निरन्तर बोलिरहे । चुनाव चिह्न लौरो पाएका उनी अन्तत धराने जनताको मन जित्न सफल भए र महानगर प्रमुख भए । एक्लै निरन्तर, लगनशील भएर भिडिरहेका साम्पाङलाई धराने जनताले पत्याए ।
उनी २०७५ सालको स्थानीय तह उपनिर्वाचनमा मेयरको उम्मेदवारी दिएका थिए । तर उनी त्यतिखेर मेयर बन्न सफल भएनन् । उनी गत वर्ष सम्पन्न चुनावमा भने २० हजार ८२१ मत ल्याएर विजयी भए । सरल स्वभावका हर्क चुनावमा विजय भएपछि रातदिन धराने जनतालाई स्वच्छ पानी पिलाउन लागि परे ।
साम्पाङ र उनको श्रमदान यात्रा
जनताको समस्या समाधान गर्न हिँडेका हर्क सँधै आफ्नो कार्यलयको कामसँगै श्रमदानमै व्यस्त रहे । धराने जनतालाई आफ्नो कार्यकालमा पानी खुवाउन आफूले डटेर काम गर्ने वाचा गरेका हर्कले अन्तत मेयर भएको झण्डै चार महिनामै धराने जनतालाई पानी पिलाउन सफल भएका थिए । हर्कले हाल खर्दु र निशाने खोलाको पानी धरान ल्याउन सफल भएका छन् । उनले वाचा गरेका कुरा पुरा गरेपछि धराने जनताले हर्कको दिल खुलेर प्रशंसा गरेका थिए ।
हर्कलाई धरानमा पानी ल्याउनमा धराने जनताले पनि निकै सहयोग गरेका थिए । मेयर हर्कसँगै धराने जनता ढुंगा बोक्न, पाइप बोक्न र ढुंगा कुट्न एकजुट भएका थिए । त्यसोत उनी यतिखेर आम जनता, देश तथा विदेशमा समेत चिनिसकेका छन् । देशको सच्चा, कर्मठ आफ्नो वाचा पुरा गर्न हरेक समय तत्पर रहने युवा नेता को भन्दा उनको नाम नलिेने सायद कमै होलान । जे होस उनले आफ्नो ईमानदारीपूर्वक गरिएको कामबाट प्रसंसा र राम्रै चर्चा कमाउन भ्याइसकेका छन् ।
यद्यपि उनी बेलाबखत आफ्नै व्यवहार, बोली, सामाजिक सञ्जालमा व्यक्त गरेका अभिव्यक्तिबाट आलोचित हुँदै आएका छन् । उनलाई उनका प्रशंसकहरु, फ्यानहरुले सामाजिक सञ्जालमा धेरै नबोल्न बेलाबखत सुझाइरहेका हुन्छन् । लौरो चुनाव चिन्ह पाएका उनी स्वतन्त्र मेयर हुन् ।
त्यसैले उनको आफ्नै वडाध्यक्षहरुसँग पनि कुरा मिल्दैन । पछिल्लो केही महिनायत्ता उनीलाई आफ्नै वडाध्यक्षहरुले अपमान गरेको भन्दै आरोप लगाएका थिए । बैठकमा तत्काल उठेको प्रश्नको तत्काल समाधान गर्न मेयर साम्पाङ चुकेको पनी जनताको गुणासो आएका थिए । चुकेको कुरालाई ढाकछोप गर्न उनले स्थानीय तह सञ्चालन ऐनले दिएको अधिकारका कुरा गरेर विवादलाई कानुनी बनाउन समेत खोजेको कतिको बुझाई थियो । सोही कारण हर्क र वडाध्यक्षहरुको विवाद अहिले चुलिएको थियो । सोही विवादकै कारण त्यहाँ कार्यपालिकाको बैठक बस्नसकेको थिएन भने प्रमुख र वडा अध्यक्षका समर्थकहरूबीच सडकमै भिडन्तसमेत भएको थियो ।
हर्क र वडाध्यक्षहरुबीचको विवादले धरान उपमहागरपालिकाको बजेट फ्रिज हुन लागेको र बजेट बनाउने प्रक्रिया पनि प्रभावित भएको थियो । उता, वडाध्यक्षहरु भने प्रमुख साम्पाङले पटकपटक आफूहरुको अपमान गरेको बताउँदै आएका थिए । वडाध्यक्षहरूलाई राजीनामामा माग्ने मेयरले आँफै राजीनामा दिएर चुनाव भिड्न पनि हर्कलाई वडाध्यक्षहरुले चुनौती समेत दिएका थिए ।
चुनौती तोडे, अभिव्यक्तिमा आलोचित
केही महिनाको मनमुटाबपछि मेयर हर्क र वडाध्यक्षहरुसँगको सहमतिपछि हर्क र वडाध्यक्षहरुबीचको विवाद अन्त्य भएको छ । सहमति अनुसार मेयर साम्पाङले फेसबुकलगायत सामाजिक सञ्जालमा जथाभावी नलेख्ने, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु २८ जनाको राजिनामा माग गरेको विषय फिर्ता लिने समझदारी भएको थियो ।
आफ्नै घरभित्रको समस्या सुल्झाउन महिनौं लगाएका हर्क आफैँले सामाजिक सञ्जालमा लेखेका विभिन्न स्ट्याटसका कारण विवादमा तानिदै आएका छन् । उनले आफूलाई कसैले केही भने वा चित्त नबुझेका कुराहरु सामाजिक सञ्जालमा स्ट्याटस र आफ्नै शब्द, संगीतमा गीत नै गाएर हसेउली पारामा जवाफ दिन्छन् । उनी आफूलाई मन नपरेको विषयमाकार्यक्रममा गएर बोल्दैनन् सामाजिक सञ्जालमै बोल्छन् ।
उनलाई आफ्ना फ्यानहरुले यसरी आक्रोशमा आएर सामाजिक सञ्जालमा नलेखन आग्रह गर्दा पनि उनी सामाजिक सञ्जालमै आफ्ना कुराहरु लेख्छन् । तर उनी जे जस्तो परिस्थिति सामाना गरेर भए पनि आफूमाथि भएको चुनौतीका चाङलाई व्यवास्ता गर्दै अगाड बढिरहेका छन् । आफ्नै वडाध्यक्षहरुसँग मन मिल्न नसकेका साम्पाङले धराने वासीको भने मन जितेका छन् । आलोचना र विवादमा आइरहने हर्क धराने वासीको मात्र होइन आम देशवासी र युवामाझ भने आफ्नो राम्रै छाप छोड्न सफल भएको छ । उनी आगामी दिनमा कसरी अगाढि बढ्लान् त्यो भने हेर्न बाँकी नै छ ।