गर्मी बढेपछि गोरखा र तनहुँका  विद्यालय बन्द

Share:
काठमान्डौ/गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ ।  गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विद्यालयमा पठनपाठन बन्द गरेको छ । गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।“गर्मी ह्वात्तै बढेपछि बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न थालेपछि विद्यालय बन्द गरिएको हो”, उहाँले भन्नुभयो । मङ्गलबारसम्म सम्पूर्ण विद्यालय बन्द रहने छन् । गर्मी बढ्दै गए  थप समयका लागि पठनपाठन बन्द गरिने नगरप्रमुख चिन्तन बताउनुहुन्छ ।
“कक्षा कोठाभित्र बस्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो– “यस्तो अवस्थामा विद्यालय बन्द गर्नु उचित ठान्यौँ ।” पालुङटार क्षेत्रमा पछिल्लो समय अधिकतम तापक्रम ४० डिग्रीभन्दा बढी  पुगेको छ । पालुङटार नगरपालिका भित्र आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो ।
तनहुँमा पनि विद्यालय बन्द  
केहीदिन देखि बढेको अत्याधिक गर्मीपछि तनहुँका शुक्लागण्डकी र आँबुखैरेनी गाउँपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ ।  विद्यालयमा पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने परिस्थिति देखिएपछि पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिएको हो ।
विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म बिदा गर्न सकिने भनि पालिकाहरुले यसअघि नै  निर्णय गरिसकेका छन् ।
त्यसैगरी आँबुखैरेनी गाउँपालिकाले पनि जेठ २८ गतेदेखि असार १ गतेसम्म गाउँपालिकाका सबै विद्यालयलाई बिदा दिइएको गाउँपालिकाका प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । त्यसैगरी यसअघि जिल्लाको देवघाट गाउँपालिकाले विद्यालय बिदा गर्दै आएको छ । त्यसैगरी व्यास नगरपालिका भित्रका केही विद्यालयहरुले मात्रै विद्यालय बिदा गरेका छन् । बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म आवश्यकताको महसुस गरी बिदा लिन पाउने निर्णय भए अनुरुप आवश्यकता हेरी बिदा लिने गरेका छन् ।
व्यास नगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय, दमौलीका सत्यवती,निर्मल,जलदेवी लगायतका विद्यालयले बिदा गरेको जानकारी पाएको व्यास शिक्षा शाखाका प्रमुख नविन पराजुलीले जानकारी दिनुभयो । शहरी क्षेत्रमा संचालित विद्यालयले गर्मीका कारण विद्यालय बिदा गरेपनि ग्रामिण क्षेत्रका विद्यालयहरुमा शीतलै वातावरण रहेको र बर्षायामको समयमा बिदा लिने गरी अहिले बिदा नगरेको जानकारी पाप्त भएको उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी बिदा लिन पाउने गरी व्यास नगरपालिकाले यस अघि सामुदायिक र संस्थागत सबै विद्यालयहरुमा परिपत्र गरिसकेको छ ।
आवश्यकताको महसुस गरी विद्यालयले बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म बिदा लिन पाउने निर्णय गरी संम्बन्धित विद्यालयलाई परिपत्र गरेको थियो ।
बन्दीपुर गाउँपालिका क्षेत्रका अधिकाँश विद्यालय ग्रामीण क्षेत्रमा रहेको गर्मीको महसुस नगरेका कारण बिदा नगरिएको गाउँपालिकाका प्रवक्ता एवं  बन्दीपुर १ का वडाध्यक्ष शिबकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पृथ्वीराजमार्ग र बजार क्षेत्रका केही अभिभावकले भने विद्यालय बिदाको बिषयमा कुरा उठान गरकोले त्यसको लागि निर्णय भैनसकेको उहाँले बताउनुभयो ।
जिल्लाको ऋषिङ्ग,घिरिङ्ग,भीमाद,भानु र म्याग्दे गाउँपालिकाका विद्यालयमा पठनपाठन सुचारु हुदै  आएको छ ।
Share: