
काठमान्डौ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका हुन् ।शाहीले प्रधानमन्त्री प्रचण्डको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरे । उनले अदालतमा उपस्थित हुँदा प्रधानमन्त्री वा पुष्पकमल दाहालको हैसियतमा उपस्थित हुनुहुन्छ ? भन्दै प्रश्न गरेका हुन् ।
शाहीले अपराध जस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने बताए ।राप्रपाले प्रधानमन्त्रीको राजीनामा मागेपछि समय माग गरी बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक शाहीले व्यक्त गरेको धारणा संसद् रेकर्डबाट हटाउन माग गरेका हुन् नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्ति रेकर्डबाट हटाउने माग गरेका छन् । सांसद सापकोटाले प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रकै हुर्मत लिनु भएको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा शाहीले बोलेलगत्तै सांसद सापकोटाले भने, ‘उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरेर आफ्नो कुरा राख्नुभयो । प्रधानमन्त्रीलाई उहाँले एकोहोर गैरराजनीतिक तरिकाका साथ लखेटिरहनुभएको छ। प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो । सांसदहरुको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यान आकर्षण भएको बताए । प्रतिनिधिसभाको अर्को बैठक सोमवार १ बजेका लागि बोलाइएको छ ।