
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ ।चौधरीले सोमबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ पनि सहभागी थिइन् ।
सुदूरपश्चिम प्रदेशमा पूर्वसहमतअनुसार दुई मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने भन्दै चौधरीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए। दुई मन्त्रालय नपाएपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छैन ।
उनले टीकापुर घटनामा थारुहरू अन्यायमा परेको भन्दै न्याय दिलाउन सरकारसँग माग गरे । उनले अझै टीकापुर घटनामा निर्दोष थारुहरू जेलमा रहेको भन्दै रिहाइका लागि अनुरोध गरे। लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर निर्दोष थारुहरूलाई न्याय दिनुपर्ने उनले सुझाव दिए ।