
काठमान्डौ/निर्वाचनको समयमा बाचा गरेको प्रतिबद्दता पूरा भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खुशीले रोएका छन् । श्रमदान गरेरै चर्चा कमाएका साम्पाङले धरानवासीको खानेपानी सपना पूरा गर्दै हर्षका आँशु झारेका हुन् ।
निर्वाचनका बेला जसरी पनि धरानवासीलाई पानी पिलाउने बाचा गरेका उनले गएराति १२ बजेर तीन मिनेटमा कोकाहा खोलाको पानी ल्याउन सफल भएका छन् । उनी गत वैशाखमा भएको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचति भएका थिए । उनले एक वर्षमा धरानवासीलाई पानी दिलाउन सफल भएका हुन् ।
पानी ल्याएको क्षण उनी धेरै भावुक देखिएका थिए । आँखाभरि आँशु बनाउँदै उनी पानीको फोहोरा हेर्दै केहीबेर टोलाएका थिए । धरानमा पानी नलिई फर्किन्नँ भन्ने अभियानै चलाएका उनले गएराति १२ बजेर ३ मिनेटमा श्रम अभियानअन्तर्गत कोकाहाको पानी धरानको पकुवा खोलामा झार्न सफल भएका हुन् । करिब ४३ किलोमिटर पाइपको दूरी पार गरेर पकुवामा कोकाहाको पानी उक्त स्थानमा ल्याइएको हो ।
पानी आएपछि भावुक हुँदै आँसु झारेका मेयर साम्पाङ केहि बेर बोल्नै सकेनन् । पानी कुरेर जागराम बसेका मेयर साम्पाङ हातमा हथौडा बोकेर पाइपबाट झरेको पानी छेउमा उभिएर एक छिन रोए, अनि पानी हातले फिजाउँदै सबैतिर छर्के, आफ्नो शरिर भिजाए । त्यो देखेर पानी कुरेका धरानबासी पनि सँगै रोए, हल्ला गरे, नारा लगाएका थिए ।