विकराल बन्दै सवारी दुर्घटना : पाँच वर्षमा एक लाख सवारी दुर्घटना, १३ हजार बढीको मृत्यु

Share:

काठमान्डौ/२०७९ असार २१ गते रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भयो । २० जना घाइते भए । उक्त बस दुर्घटनाको कारण बसको ब्रेकको पाइप फुटेको अवस्थामा प्लाष्टिकले बाँधेर बस गुडाउँदा दुर्घटना भएको खुलेको थियो ।

 

त्यस्तै, २०८० जेठ २९ गते सोमबार प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको कार दुर्घटनामा परेर आठ जनाको मृत्यु भयो । स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बर को कार स्वर्गद्वारी नगरपालिका ४ भिंग्री नजिकै भीरबाट तल खसेर कार दुर्घटना भएको प्रहरीले जनाएको थियो । दुर्घटनामा परी दुई घरका आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

 

कारमा दुई पुरुष, दुई महिला र चार बालबालिका गरी आठ जना सवार थिए । हालसम्म उक्त कार दुर्घटना के कारणले भएको हो खुल्न भने सकेको छैन । तथापी कारको क्षमता ४ जनाको हुन्छ भजे उक्त कारमा आठ जना सवार रहेको खुलेको छ ।

 

नेपालमा यस्ता कहालीलाग्दो सवारी दुर्घटनाका घटना सामान्य अंकमा गणना गर्न सकिँदैन । महालेखा परीक्षकको ६०औँ प्रतिवेदनले नेपालमा पाँच वर्षमा १३ हजार भन्दा बढीले सवारी दुर्घटनामा ज्यान गुमाएको तथ्यांक सार्वजनिक गरेको छ । यस्ता तथ्यांक हेर्ने हो भने नेपालको सवारी दुर्घटनाको अवस्था चिन्ताजनक देखिन्छ ।

 

प्रतिवेदनअनुसार २०७४ देखि २०७९ सम्म १ लाख सवारी दुर्घटनामा मात्र परेर अकालमै १२ हजार ८ सय ५३ जनाले ज्यान गुमाएका छन् । पाँच वर्षमा १३ हजार बढी नागरिकले सवारी दुर्घटनामा परी ज्यान गुमाउनु सामान्य विषय नरहेको प्रतिवेदनमा उल्लेख छ ।

 

यस्तै महालेखाको प्रतिवेदनमा पाँच वर्षमा २६ हजार ८७४ जना गम्भीर घाइते भए भने ७४ हजार ५२२ जना सवारी दुर्घटनामा सामान्य घाइते भए । यसरी हेर्दा नेपालमा सवारी दुर्घटनाको अवस्था भयावह नै छ । जसलाई पाँच वर्षमा झण्डै एक लाख वटा सवारी दुर्घटनामा परेको तथ्यांकले पुष्टि गर्छ । महालेखाको प्रतिवेदनमा पाँच वर्षमा ९९ हजार ९०९ वटा सवारी दुर्घटनामा परेका छन् ।

पाँच वर्षमा १३ हजार बढीको मृत्यु

नेपालमा वर्षेनि सवारी दुर्घटना बढिरहेको छ । महालेखाको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/०७५ मा १० हजार ९ सय ६५ सवारी साधनहरु दुर्घटनामा परेका छन् । जसमा २ हजार ५ सय ४१ जनाले ज्यान गुमाए भने १२ हजार ३ सय ९२ जना घाइते भए । यस तथ्यांक हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा सावरी साधन दुर्घटना दर ८ प्रतिशतले वृद्धि भएको हो ।

 

यसैगरी आर्थिक वर्ष २०७५÷०७६ को तंथ्याक हेर्न हो भने यो वर्ष सवारी दुर्घटना २२ प्रतिशतले वृद्धि भएको छ । यस आर्थिक वर्षमा १३ हजार ३ सय ६६ सवारी साधन दुर्घटनामा परेका छन् । जसमा २ हजार ६ सय ७८ जनाले ज्यान गुमाए। १४ हजार ७ सय ३६ जना घाइते भए ।

 

यस्तै महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ मा १६ प्रतिशतले सवारी दुर्घटनामा वृद्धि भएको छ । यस वर्ष १५ हजार ५ सय ५९ सवारी साधन दुर्घटनामा परे। जसमा २ हजार २ सय ५१ जनाले ज्यान गुमाए भने १५ हजार १२ सय १७ जना घाइते भए ।

 

आर्थिक वर्ष ०७७/०७८ मा सवारी दुर्घटना ३३ प्रतिशतले वृद्धि भई २० हजार ६ सय ४० सवारीसाधन दुर्घटनामा परे। जहाँ २५ सय जनाको मृत्यु भयो भने २५ हजार ४८ जना घाइते भए ।

 

यसैगरी २०७८/२०७९ मा सवारी दुर्घटना ९१ प्रतिशतले बढेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। यस आर्थिक वर्षमा ३९ हजार ३ सय ७९ सवारी साधन दुर्घटनामा परे। जसमा २८ हजार ८३ जनाले ज्यान गुमाए भने ३३ हजार ४ जना घाइते भए ।

 

माथिको तथ्यांकअनुसार ५ वर्षमा सवारी दुर्घटना १६ प्रतिशतले बढेको देखिन्छ । जसमा सबैभन्दा बढी २०७८/२०७९ सवारी दुर्घटना भएको छ । वर्षेनि सवारी दुर्घटना वृद्धि हुनुले सरकारले सवारी दुर्घटनामा तदारुकता नदेखाएको प्रष्ट हुन्छ ।

यि हुन् सवारी दुर्घटना बढ्नुका कारण

ट्राफिक प्रहरीकाअनुसार सडक दुर्घटनाको मुख्य कारण चालकको लापरवाहीले ६७ प्रतिशत, यात्रुको गल्तीले ४ प्रतिशत, गलत र जथाभावी ओभेरटेकबाट ४ प्रतिशत, तीव्र गतिका कारण १५ प्रतिशत, यान्त्रिक गडबढीका कारण ४ प्रतिशत र अन्य कारणबाट ६ प्रतिशत रहेको छ ।

 

मुख्यतया सडक दुर्घटना हुनु प्रमुख कारणहरुमा चालकले ट्राफिक नियम पालना नगर्नु, सडकको दुरावस्था, यान्त्रिक समस्या, मानवीय त्रुटि आदि रहेका छन् ।

 

सवारी साधन दुर्घटना कम गर्न नेपाल प्रहरीले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी’ ( कार्य सञ्चालन सुपरिवेक्षण र समन्यव) ऐन २०७३ को दफा ३ बमोजिम ट्राफिक व्यवस्थापनसम्बन्धी काम, कर्तव्य तथा विभिन्न योजनाहरु बनाउने गर्छ । तर, ती योजनाहरुको प्रभावकारी कार्यन्वयन हुन नसकेको माथिको तथ्यांकले देखाउँछ। महालेखाको प्रतिवेदनले सवारी दुर्घटना न्यूनिकरण गर्न ठाउँ–ठाउँमा सिसिटिभी क्यामरा जडानदेखि स्पिड बेक्ररहरु बनाउने, जेब्रा क्रस बनाउने, रोड लाइट राख्नेसम्मको सुझाव दिएको छ ।

 

सरकारसँग सडक आयोजना निर्माणको औचित्य पुष्टि गर्ने वैज्ञानिक संयन्त्रको कमी, जथाभावी सडक बनाउने प्रवृति त्यस्तै, सडकको औचित्य प्रभावकारिता र मर्मत सम्भारको प्रणाली नहुनु, सडक निर्माणको योजना तर्जुमा गर्नेदेखि मर्मत/सम्भारको पद्धती नहुँदा दिनप्रतिदिन सवारी दुर्घटना बढेको देखिन्छ ।

Share: