तयारी नपुगेको भन्दै आज तय गरिएको समाजवादी मोर्चा घोषणा, आज नहुने

Share:

काठमान्डौ/सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुले बनाउने भनेको समाजवादी मोर्चा आज घोषणा नहुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने भएको हो । यसअघि नेताहरुले आज असार १ गते मोर्चा गठनको घोषणा हुने बताएका थिए ।मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने पक्का छ । यसमा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि समेट्नेबारे छलफल भइरहेको छ ।

एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले दलहरुको आन्तरिक तयारी नपुगेकाले आज मोर्चा घोषणा नहुने बताउँदै भने, ‘अझै एक–दुई दिन लाग्ने नै जस्तो देखियो, सबैको आन्तरिक बैठक र तयारी पूरा नभएको हुनाले ।’मोर्चाबारे छलफल गर्न आज एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठक बसेको थियो । बैठकमा सो पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल अनुपस्थित थिए । त्यसैले औपचारिक निर्णय भएन । तर मोर्चामा सामेल हुने र छिटो घोषणा गर्नका लागि पहलकदमी लिने सर्वसम्मत निर्णय भएको नेता खतिवडाले जानकारी दिए

 

खतिवडाले भने, ‘हाम्रो पार्टीको आन्तरिक तयारी पूरा भइसकेको छ । अरु पार्टीहरुको केही कुरालाई पर्खनुपर्ने स्थिति भएको हुनाले आज चाहिँ यो समाजवादी मोर्चा नेपालको घोषणा हुन नसक्ने तर अत्यन्तै चाँडै यो घोषणा गर्ने ठाउँमा अन्य दलहरुसँग छलफल भइरहेको स्थिति छ ।’

 

Share: