
काठमान्डौ/‘आदिपुरुष’ को निर्माण कम्पनी सुपर क्यासेट्सले इमेल मार्फत फिल्ममा समावेश संवादले परेको प्रभावप्रति माफी मागेको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र चलचित्र विकास बोर्डलाई सम्बोधन गरेर लेखेको पत्रमा ‘आदिपुरुष’ चलचित्रको डाइलगबाट नेपाली भावनामा ठेस पुर्याउने आफ्नो उद्देश्य नभएको भन्दै उसले क्षमायाचना गरेको हो ।
‘सर्वप्रथम यदि हामीले कुनै पनि विषयमा नेपालको भावनामाथि चोट पुर्याएको भए माफी चाहन्छौं, कसैको सौहाद्रतामा खलल पुर्याउने हाम्रो कुनै पनि चाहना वा नियोजित कार्य थिएन’, पत्रमा भनिएको छ । ‘चलचित्रमा प्रभासले निभाएको चरित्र श्री राघवले बोलेको ‘आज मेरे लिए मत लड्न, उस दिन के लिए लड्ना जब भारत कि किसि बेटी पर हात डाल्ने से पेहेले दूराचारी तुमहारा पौरुष याद कर्के थ्रा उठेका’ को सम्बन्ध माता सीताको जन्मभूमिसँग सम्बन्धित नभएको तर भारतका सबै महिलाहरुको स्वाभीमानलाई जनाउने रुपमा प्रयोग गरिएको हो’, पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौं महानरका मेयर बालेनले बिहीबार उक्त चलचित्रमा रहेको विवादित संवाद ३ दिनभित्र हटाउन र नहटाए महानगरभित्र कुनैपनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए । त्यसैक्रममा, आज नगर प्रहरीले हलहरुमा पूर्वसूचना दिइसकेको छ भने हल सञ्चालकहरुले पनि महानगरको निर्णय मान्ने जनाएका छन् ।