
काठमान्डौ/ललितपुर बागडोल बस्ने ७ वर्षीय मिना गुरुङ कक्षा १ मा पढ्छिन् । उनको कक्षा १ को किताब मात्रै आठ वटा छन् । उनलाई हिँडरे स्कुल पुग्न मात्र पाँच मिनेट लाग्छ तर उनी आफ्नो आठ वटा किताब बोकेर एक्लै स्कुल भने जान सक्दिनन् । किनकि उनले आफ्नो आठ वटा किताब, कापी, खाजाको झोला र पानीको बोटल राखेको उनको झोला हलचल गर्न सक्दिनन् भने बोक्न त सक्ने कुरा नै भएन । ‘ह्या म स्कुल नै जान्न जहिले यति धेरै किताब बोक्नुपर्छ बोक्नै सक्दिन, काँध दुखेर छुन नहुने हुन्छ’ मिना भन्छिन् । उनी स्कुल जाने भन्नेबितिकै किताबको भारी सम्झेर रुने गर्ने गरेकी उनकी आमा विमला सुनाउँछिन् । उनि भन्छिन्,’स्कुल जाने समय भयो अब जानुपर्छ है भन्नेबितिक्कै रुन्छिन् ।’उनको किताबको झोला उनले हलचल गर्न समेत सक्दिनन् ।
कक्षा तीनमा अध्ययन गर्ने अभिषेक पनि उस्तै पिडामा छन् । उनको १० वटा किताब छन्, उनी आठ वर्षका भए । उनको लागि १० वटा किताब, कापी, टिफिन झोला, पानीको बोटल नोट कापी उनको काँधले धान्न सक्दैनन् । उनको तौल बराबर उनको झोलाको तौल हुन्छ । उनी स्कुल बसमा स्कुल जाने गरेपनि उनलाई बसस्टपसम्म पुर्याउन आमा नै जानुपर्छ । किनकि अभिषेकले उनको झोला बोक्न सक्दैनन् । उसले आफ्नो झोला बोक्न सक्दैन नियमित उनको झोला लिएर म नै बसस्टपसम्म ल्याउने र लिन आउने गर्छु उनकी हजुर आमा ४३ वर्षीया गंगा बताउँछिन् ।
यी त केही उदाहरण मात्र हुन्, अधिकांश निजी विद्यालयले सरकारले निर्धारण गरेभन्दा तीन गुणा बढीसम्म पुस्तक किन्न लगाउने गरेको अधिकांस अभिभावकहरुको गुनासो सुनिन्छ । कलिला बालबालिकालाई निजी विद्यालयले पुस्तकको भारीले गलाएका छन् । बालबालिकाको मनोविज्ञानअनुसार सरकारले कक्षा १ मा चार विषयको पाठ्यक्रम निर्माण गरी पठनपाठन गराइरहेको छ, तर निजी विद्यालयले १० देखि ११ वटा पुस्तक किनाएका छन् ।
धेरै पुस्तक किनाउनुले निजी विद्यालयले विद्यार्थीको भन्दा व्यापारको बढी चिन्ता गरेको भन्दै आलोचना भइरहेको छ । सानो कक्षाका बालबालिकालाई धेरै पुस्तक किनाउने संस्कार गलत भएको शिक्षाविदहरु बताउँछन ।
स्वीकृति नलिई विद्यार्थीलाई भारी बोकाउँदै नजी विद्यालय
शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा १ मा नेपाली, सेरोफोरो, अंग्रेजी र गणित विषय राखेको छ । तर, निजी विद्यालयले यी विषयको पाठ्यक्रमभन्दा फरक र केन्द्रले स्वीकृति नदिएका पुस्तकसमेत किनाएर विद्यार्थीलाई पुस्तकको भारी र अभिभावकलाई आर्थिक बोझ थपेका छन् । चाहिनेभन्दा बढी पुस्तकको लोड राखेपछि बालबालिकाको सिकाइमा समेत ह्रास हुन पुगेको छ । आर्थिक मात्रै होइन बालबालिकाको मानसिक र शारीरिक रूपमा समेत दीर्घकालीन असर पर्छ । सरकार कमजोर हुँदा निजी विद्यालयले फाइदा उठाइरहेको अभिभावकहरुको गुनासो छ ।
धेरै पुस्तक किनाएर बालबालिकालाई व्यस्त गराउँदा एकलकाँटे हुने, पुस्तकमा भएका र शिक्षकले भनेका बाहेक अरू ठीक हुन् भन्ने नलाग्ने अवस्था आउने सिर्जना भएको छ ।
सरकारले पाठ्यक्रमअनुसार तयार पारेको पाठ्यपुस्तक अनिवार्य पढाउनुपर्छ । त्यसबाहेक पाठ्यक्रमसँग मिल्ने पुस्तक थप सामग्रीका रूपमा पढाउन पाउने व्यवस्था छ । तर, कतिपय निजी विद्यालयले सरकारी पाठ्यक्रमअनुसार तयार भएका पाठ्यपुस्तक नपढाएर अन्य सामग्री पढाउने गरेका छन् । सामान्यतया पाठ्यपुस्तकले नसमेटेको विषयवस्तुमा अभ्यास गराउन थप सामग्री लगाउन सकिने व्यवस्था छ । कक्षा १–३ सम्म एकीकृत पाठ्यक्रम लागू भएको छ । थप सामग्री पनि विषयबाहिर रहनुहुँदैन ।
सानो कक्षाका बालबालिकालाई धेरै पुस्तक किनाउने संस्कार एकदमै बेठीक हो । कक्षा १ मा सरकारले तोकेका पाठ्यपुस्तक नै पर्याप्त छन्, अरू थप्नु भारी हो । निजीका भन्दा सरकारी पुस्तक राम्रा छन् । त्यसैले विद्यालय तहमा निजीलाई पुस्तक उत्पादन नै गर्न दिनुहुँदैन ।
निजीले बालबालिकालाई स्वतन्त्र रूपमा सिक्ने अवसर दिएका छैनन्, पुस्तकका भारीले थिचेका छन् । कतिपय देशमा सानो कक्षामा पुस्तक हुँदैन । पुस्तकले थिचेर गुणस्तर आउँदैन, स्वतन्त्र रूपमा सिक्न दिनुपर्छ ।
सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयमा पुस्तकको संख्या झण्डैले डबल छ । कक्षा १ मा सामुदायिक विद्यालयमा ५ वटा पुस्तक छ । संस्थागत विद्यालयहरुले कक्षा १ मा ९ वटा पुस्तकसम्म राखेका छन् ।
शिक्षाविद्का अनुसार किताब धेरै बोकाउनु भनेको किताब बेच्ने व्यापारीलाई, किताब छाप्ने प्रकाशक र कमिसन खाने स्कुललाई मात्र फाइदा हो । विद्यार्थीलाई फाइदा हुने काम त स्कुलमै पुस्तकालय निर्माण गरी विद्यार्थीलाई किताब दिनु हो । संस्थागत विद्यालयले साना कलिला विद्यार्थीहरुलाई किताब नबोकाइ स्कुलमै राख्ने व्यवस्था गर्नुपर्ने र किताब थपेर भरिया बनाएर शिक्षाको गुणस्तर नबढ्ने बताउँछन् ।
पाठ्यपुस्तक कति आवश्यक ?
शिक्षाविद्का अनुसार पाठ्यपुस्तक त शिक्षण सिकाइका लागि सन्दर्भ–सामग्री मात्रै हुन् । खास सिकाउने त पाठ्यक्रम हो तर, हामी कहाँ उल्टो भइराखेको छ शिक्षकले किताब पढाउने र विद्यार्थीले पनि पाठ्यपुस्तक मात्रै कण्ठ गर्दा सिकाइको दायरा साघुँरिदै गएको छ ।
अष्ट्रेलिया, फिनल्याण्ड, क्यानडालगायतका देशमा विद्यार्थीहरु किताब बोकेर विद्यालय जाँदैनन् । फिनल्याण्डमा पाठ्यपुस्तक नै नदिने विकल्प छ । अष्ट्रेलिया र क्यानडामा पुस्तकालयमा मात्रै पाठ्यपुस्तक राख्ने र विद्यार्थीलाई शैक्षिक सामग्रीको रुपमा मात्रै सापटी दिने चलन छ ।
चीनमा एउटै किताब दुई–तीन जनालाई पढ्न लगाउने चलन छ । अहिले अनेकन् विकल्पहरु आइसकेका कारण नेपालले पनि अरू मुलुकका अभ्यासबाट पनि सिक्न सकिने शिक्षाविदहरु बताउँछन् ।