
काठमान्डौ/मंगलबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीप्रसाद सिंहसहित तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ ।सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको अध्यक्षतामा सात सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव नवराज ओझा, मुख्यन्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर सदस्य छन् ।
समितिको सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत विष्णुदत्त अवस्थी रहेका छन् ।१५ दिन भित्र प्रतिवेदन बुझाउने गरी सरकारले आज समिति गठन गर्ने निर्णय गरेको हो ।मन्त्री नियुक्त भएको ३० औं दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो ।
दुर्घटनामा मन्त्री सिंहसहित श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो । दुर्घटनामा मन्त्रीका पिएसओ र सवारी चालक घाइते छन् ।