
काठमान्डौ/काभ्रेपलाञ्चोकको बेथान्चोक र कोशीपारीमा सवारी दुर्घटना भएको छ । कोशीपारी दोलालघाटमा ट्याक्सी र बेथानचोक-४, पडगाउँडाडाँमा बोलेरो दुर्घटना भएको हो । पडगाउँडाडाँदेखि क्लब घर निस्कने सडकमा सानो बोलेरो गाडी अन्दाजी सडकबाट २०० मिटर तल झरेको छ ।
गाडीमा चालकसहित ४ जना सवार रहेकामा सबै घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । घाइते चार जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
दोलालघाटमा ट्याक्सी दुर्घटना
कोसीपारीको भुम्लु गाउँपालिका-८, दोलालघाट नजिकै ट्याक्सी दुर्घटना भएको छ । काठमाडौंबाट चौरी देउराली जाँदै गरेको ट्याक्सी दुर्घटना भएको हो । चालकसहित उक्त दुर्घटनामा ३ जना घाइते भएको घटना स्थलबाट लोक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घाइतेहरुको उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ ।