
काठमान्डौ/काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा सोमबार पनि हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएपनि हेर्न नभ्याइने सूचीमा परेको हो ।
अधिवक्ता वर्षाकुमारी झाले गएको शुक्रबार बालेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन् । आइतबार पनि ढुंगानाकै इजलासमा परेको उक्त निवेदन हेर्न नभ्याइने सूचीमा परेको थियो । अदालतको आदेश मान्दिन भन्ने अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेकी थिइन् ।
यसअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत् आफूले आदेश नमान्ने बताएका थिए ।