
काठमान्डौ/क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय सुनाएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले सोमबार पीडितलाई क्षतिपूर्ति दिन आदेश गरेको हो । सरकारको राहत कोषबाट सो रकम उपलब्ध गराउन अदालतले भनेको छ ।
जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा पीडित गौशाला २६ लाई उपचार खर्च भराउन आदेश दिएको हो ।न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट गौशाला २६ लाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो ।
पीडितले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन् । अस्पतालका चिकित्सकको बकपत्र समेत गरेपछि अदालतले उपचार गर्दाको खर्च उपलब्ध गराउन आदेश दिएको हो ।
यसअघि थुनछेक मुद्दामा सर्वोच्च अदालतले जाहेरीकर्ता गौशाला २६ लाई पीडित राहत कोषबाट तत्काल अन्तरिम उपचार खर्च उपलब्ध गराउन आदेश दिएको थियो ।पीडितका तर्फबाट कानून व्यवसायीले पटकपटक निवेदन दिँदा पनि यसअघि जिल्ला अदालतले क्षतिपूर्ति भराउने आदेश गर्न अस्वीकार गर्दै आएको थियो ।
तर सोमबार मुद्दा अन्तिम चरणमा पुगेको र बाँकी विषय निर्णयबाट नै ठहरे बमोजिम हुने भन्दै उपचार खर्च पीडित राहत कोषबाट दिन आदेश गरेको हो आरोपित सन्दीप लामिछानेका कानून व्यवसायीहरुले भने उनलाई उपचार खर्च दिने निवेदनको प्रतिवादमा बहस गरेका थिए ।