तथ्यांक लिएर आउँछु भन्दै मुख्यमन्त्री कार्की बाहिरिएपछि कोसी प्रदेश सभा बैठक अनिश्चित

Share:

काठमान्डौ/मत विभाजनको प्रक्रिया सुरु गर्नुअघि आधा घण्टाका लागि स्थगित भएको कोसी प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन । बैठक स्थगित भएपछि ‘केही तथ्यांक लिएर आउँछु’ भन्दै मुख्यमन्त्री हिक्मत कार्की प्रदेश सभा सचिवालयबाट निस्किएपछि बैठक नै अनिश्चित बनेको छ ।

 

मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव राखेपछि त्यसमाथिको छलफलमा दलका नेताहरूले बोल्ने क्रम सकिएपछि सभामुख बाबुराम गौतमले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

 

प्रदेश सभाबाट बाहिरिँदै गरेका मुख्यमन्त्रीलाई बाह्रखरीले राखेको जिज्ञासामा ुजवाफ दिन केही तथ्यांक चाहिएकाले लिएर आउँछुु भनेर प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्रीसँगै सरकारका मन्त्रीहरूसमेत सदनबाट बाहिरिएका छन् ।

 

विश्वास मतसम्बन्धी प्रक्रिया सुरु हुनेरनहुने भन्ने विषयमा अन्योल भएपछि प्रदेश सभा सदस्यहरू बैठक चल्ने समय कुरेर बसेका छन् । नेपाली कांग्रेसका उपनेता हिमाल कार्कीले बैठक बस्नेरनबस्ने भन्ने विषयमा आफूहरू समेत अन्योलमा रहेको सुनाए ।

 

एमाले संसदीय दलका उपनेता रामबहादुर मगरले मुख्यमन्त्री निस्कनुको कारण थाहा नभएको बताए । जवाफ तयार गर्न निस्किएको हुन सक्ने उनको भनाइ छ ।आजको बैठकमा बोल्दै कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)ले सरकारले राखेको विश्वासको मतको प्रस्तावमा समर्थन गर्न नसकिने बताएका छन् । एमाले र राप्रपाले भने प्रस्तावको पक्षमा बोलेका थिए ।

 

एक सांसदमात्रै रहेको जनता समाजवादी पार्टी भने तटस्थ बसेको छ ।

Share: