नासु तामाङ र स्रेस्तेदार पाण्डेलाई उपत्यका बाहिर सरुवा गर्न नेपाल बारको माग

160
0
Share:

काठमान्डौ/ललितपुर जिल्ला अदालतमा गत साता कर्मचारी र कानुन व्यवसायीबीच भएको कुटपिटको घटनालाई लिएर आन्दोलित नेपाल बार एसोसिएसनले ती कर्मचारीलाई उपत्यका बाहिर सरुवा गर्नुपर्ने माग गरेको छ ।

 

बारले सोमबार एक विज्ञप्ति जारी गरी घटनालाई अतिरञ्जित तुल्याउन भूमिका खेलेको भन्दै ललितपुर जिल्ला अदालतका स्रेस्तेदार विष्णु पाण्डे र कानुन व्यवसायीसँगको झगडामा संलग्न नायब सुब्बा प्रेमिका तामाङलाई उपत्यका बाहिर सरुवा गर्नुपर्ने माग गरेको हो ।

 

गतसाता ललितपुर जिल्ला अदालतमा नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबीच हात हालाहाल भएको थियो । दुवैले एक अर्कामाथि आरोप लगाएका छन् । कर्मचारीको प्रतिवेदनका आधारमा पक्राउ परेका कानुन व्यवसायी लामिछाने आइतबार तारेखमा रिहा भएका थिए ।

 

बारले घटनामाथि छानबिन गर्न समिति गठन गर्नुपर्ने, अधिवक्ता लामिछाने विरुद्धको मुद्दा फिर्ता हुनुपर्ने माग राखेको छ । उसले यही मागका साथमा पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर्न र रिक्त पदमा न्यायाधीश नियुक्ति गर्नसमेत माग राखेको छ ।

Share: