
काठमान्डौ/’एक गाग्री पानी भर्न दुई घण्टा कुर्नुपथ्र्यो, अहिले यो गाउँका सबै घरमा धारा बनेका छन्, हाम्रो वर्षौँदेखिको समस्या समाधान भयो ।’बागलुङ नगरपालिका–६ लमगाउँकी अनकली थापा अहिले ५० वर्ष हुनुभयो । उहाँले थाहा पाउने भएदेखि यो गाउँमा खानेपानीको हाहाकार थियो । जिल्ला सदरमुकाम नजिकैको गाउँ भए पनि लमगाउँमा खानेपानीको समस्या वर्षौँदेखि हुँदै आएको थियो । तर यसवर्ष अनकलीलगायत गाउँका एक सय ४४ घरमा धारा बनेपछि स्थानीयवासी हर्षित छन् ।
बागलुङ नगरपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को लगानीमा अहिले गाउँमा लिफ्टमार्फत खानेपानी वितरण थालिएको छ । लमगाउँमा लिफ्टमार्फत ‘एक घर, एक धारा’ निर्माणपछि यसै सातादेखि धारामा पानी आउन थालेको छ । धारामा पानी आएपछि अब गाउँलेको दैनिकीमा परिवर्तन आउने अपेक्षा गरेको अनकलीले बताए । लामो समयदेखि सरोकारवाला निकायलाई खानेपानीको माग गरे पनि अहिले बल्ल पूरा भएको उनले बातए ।
खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै यस क्षेत्रका स्थानीयवासीलाई ठूलो राहत पुगेको लमगाउँ लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष एकेन्द्र थापाले बताए । गाउँमा एक सय ४४ घरमा एक घर एक धारा र विद्यालयमा एउटा गरी एक सय ४५ धारा निर्माण गरिएको अध्यक्ष थापाले बताए । आयोजना ७२ लाख २६ हजार एक सय ४७ रुपैयाँमा सम्पन्न भएको उनको भनाइ छ । बागलुङ नगरपालिकाले विनयोजन गरेको १२ लाख १६ हजार रु चार, नेवाको ४६ लाख दुई हजार चार सय २९ रुपैयाँ, स्थानीयवासीको नगद सहयोग चार लाख ५१ हजार चार सय र स्थानीय जनश्रमदान नौ लाख ५६ हजार तीन सय १४ खर्च भएको थापा बताउछन् ।
यस आयोजनाबाट गाउँका सात सय १६ जना नागरिकले सेवा लिने छन् । आयोजना अन्तरगत इन्टेक एक, पानी बाँड्ने पानी जम्मा गर्ने चारवटा स्थानीय समुदायमा एक सय ४४ र स्थानीय विद्यालयमा एक धारा निर्माण गरिएको छ । आयोजनाका निम्ति १० हजार छ सय ९१ मिटर पोलिथिन पाइप र उक सय ६० मिटर जिआई पाइप जडान गरिएको अध्यक्ष थापालेको भनाइ छ ।
उनि भन्छन् – ‘अब गाउँमा कोही पनि नागरिक पानी भर्नका लागि दुःख पाउनुपर्ने छैन, अहिलेसम्म जति समस्या भयो, त्यसलाई बिर्सिएर नयाँ खानेपानी आयोजनाको संरक्षण गर्ने र उपभोग गर्नुपर्छ, गाउँका नागरिकको अब दैनिकीसमेत फेरिने छ, पहिले खानेपानीकै लागि खर्च गर्ने समय अब उत्पादनमा लगाउने छन्, खेतीयोग्य भएर पनि सिँचाइ अभावमा बाँझो रहेका जमिनमा तरकारी फल्ने छन्, कोहीले पनि अब बजारबाट तरकारी किनेर खानुपर्ने छैन ।’
बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले लमगाउँका सयौँ नागरिक खानेपानीको समस्याबाट लामो समयदेखि पिल्सिएको हुँदा नगरपालिकाले खानेपानीको सङ्कट रहेको गाउँमा ‘एक घर, एक धारा’ निर्माण गर्ने अभियान अन्तर्गत खानेपानीको मूल अभाव भएको स्थानमा लिफ्टमार्फत घर घरमै खानेपानी पुर्याएको बताए । खेतमा रहेका कुवा, मूल र सामुदायिक धाराकोे पानी प्रयोग गर्दै आएका स्थानीयवासीले लिफ्टमार्फत घरमुनिको पानी तानेर घर–घरमा पुर्याइएको उहाँको भनाइ छ ।
‘विविध कारणले बजार भएर पनि यो ठाउँमा खानेपानीको व्यवस्थापन हुनसकेको थिएन, खानेपानी अभावमा स्थानीयवासीले अहिलेसम्म ठूलो अभाव झेल्दै आए, अब कसैले पानीको समस्या भयो भन्नुपर्ने छैन,’ नगर प्रमुख श्रेष्ठले भन्नुभयो–’यो आयोजनालाई स्थानीयवासीले जति संरक्षण गर्नुहुन्छ, उति दीर्घकालीसम्म रहन्छ, समस्या परे नगरपालिकाले सहयोग गर्दै जानेछ ।’नगरभित्र खानेपानीको अभाव भएको क्षेत्रमा थप व्यवस्थापन गरेर जाने उनले बताए । लिफ्टमार्फत खानेपानी पुर्याउदा विद्युत् महसुल बढी लाग्ने भए पनि गण्डकी प्रदेश सरकारले छुट गरेका कारण अहिले सहज भएको श्रेष्ठको भनाइ छ ।
आगामी पाँच वर्षभित्र बागलुङ नगरपालिकाको खानेपानी सङ्कट क्षेत्रमा खानेपानी पु¥याउने लक्ष्य राखेको उनले बताए । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)का गण्डकी प्रदेश प्रमुख रमेश दाहालले आफूहरुले सुगमदेखि दुरदराजका गाउँमा खानेपानीको समस्या समाधान गर्दै आएको भन्दै लमगाउँमा पनि त्यो समस्या लामो समयदेखि रहँदै आएको हुँदा नगरपालिकासँग सहकार्य गरेर समसाधान गरेको बताए । अव्यवस्थित रुपमा रहेको खानेपानीको मूललाई व्यवस्थित गरेर घर–घरमा धारा पुर्याइएको उनको भनाइ छ । आयोजनाका लागि नेवाले ४६ लाख दुई हजार चार सय २९ रुपैयाँ लगानी गरेको छ । स्थानीयवासीको सहजताका लागि दुई/दुईवटा पानी तान्ने विद्युतीय मोटरको व्यवस्थापन गरेको उहाँ बताउछन् ।आयोजना विसं २०७९ साउन १६ गतेदेखि सुरु भएको थियो भने २०८० असार १५ मा सम्पन्न भई घरघरका धारामा पानी वितरण गर्न थालिएको हो ।