
काठमान्डौ/चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो ।
चितवनको रत्ननगर नगरपालिकाको टिकौलीमा कृष्णसार राख्नका लागि प्राविधिकरूपमा अध्ययनपश्चात् आवश्यक तयारीको काम गरिएको नगरप्रमुख प्रल्हाद सापकोटाले बताए । उनका अनुसार असोजसम्म यहाँ कृष्णसार ल्याउने गरी काम भइरहेको छ ।
टिकौलीमा कृष्णसार राख्नका लागि तयार पारिएको क्षेत्रमा तारबार, घाँसेमैदान र दुईवटा पोखरी निर्माण गरिएको प्रमुख सापकोटाले जानकारी दिए । कृष्णसारलाई चितवनमा ल्याउनका लागि नगरपालिकाले अग्रसरता लिएको उनको भनाइ थियो ।
नगरपालिकाको प्रमुख संरक्षकत्वमा डिभिजन वन कार्यालय चितवनले यसको व्यवस्थापनको काम गर्नेछ । कृष्णसार व्यवस्थापनका लागि नगरपालिकाले गत वर्ष रू ३८ लाख छुट्याएको थियो भने यस वर्ष रू ५० लाख बजेट विनियोजन गरेको छ ।
कृष्णसारको संरक्षण र पर्यापर्यटनको विकासका लागि कृष्णसार यहाँ ल्याउन लागिएको प्रमुख सापकोटाले बताए । ‘चितवनमा हात्ती, बाघ र गैँडाबाहेक अन्य जनावर पनि छन् भन्ने सन्देश दिने उद्देश्यले पनि हामीले कृष्णसारको स्थानान्तरणमा पहल गरेका हौँ’, उनले भने , ‘नयाँ वन्यजन्तुको आगमनले पर्यटकलाई नयाँ अनुभव दिन सकिन्छ ।’
पञ्चकन्या सामुदायिक वनको टिकौलीमा १९ हेक्टर क्षेत्रफलमा तारबार गरेर कृष्णसार राखिने नगरप्रमुख सापकोटाले जानकारी दिए । उनाका अनुसार निर्माण गरिएको तारबार चितुवा, बाघ र हात्तीले भत्काउन नसक्ने गरी बनाइएको छ । यही सामुदायिक वनमा नगरपालिकाले हरियाली पार्कसमेत निर्माणको तयारी गरेको उनले बताए ।
कृष्णसार स्थानान्तरणका लागि स्थानीय सरकार, चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्था तथा सामुदायिक वनको संयन्त्र निर्माण गरिएको छ । अहिले कृष्णसार बर्दियाको खैरापुर र कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा मात्र पाइन्छ ।
पूर्व प्रमुख संरक्षण अधिकृत बर्णबहादुर थापाले कृष्णसारको संरक्षणका लागि स्थानान्तरणको तयारी गरिएको बताए । उनका अनुसार कुनै प्रजाति एक ठाउँमा मात्र रहँदा रोग तथा बाढी, पहिराका कारण संरक्षणमा चुनौती हुने भएकाले कृष्णसारलाई चितवन ल्याउन लागिएको हो ।
वन मन्त्रालयको निर्देशनमा राष्ट्रिय निकुञ्ज विभागले कृष्णसार स्थानान्तरणका लागि हरिभद्र आचार्यको नेतृत्वमा प्राविधिक अध्ययन टोली बनाएको थियो । प्राविधिक टोलीले ‘टिकौलीमा कृष्णसार ल्याउन र टिकाउ सम्भव छ’ भन्ने प्रतिवेदन बुझाएपछि स्थानान्तरणको तयारी गरिएको हो ।
विसं २०७७ मा अध्ययन सुरु भएर विसं २०७८ देखि कृष्णसार ल्याउनका लागि पूर्वाधार निर्माणको काम तयारी सुरु गरिएको थियो । ‘प्राविधिकरूपमा व्यवस्थापनका लागि पाँचवर्षे कार्ययोजना तयार हुँदैछ’, पूर्व प्रमुख संरक्षण अधिकृत थापाले भने, ‘कार्ययोजनाको रिपोर्ट बुझाउनासाथ कृष्णसार स्थानान्तरणको काम सुरु हुन्छ ।’ उनका अनुसार पहिलो चरणमा छ भाले र १२ पोथीसहित १८ कृष्णसार ल्याउने तयारी गरिएको छ ।
‘कृष्णसारको बासस्थानका लागि खुला घाँसेमैदान भएको ठाउँ उपयुक्त मानिन्छ । यसले काँस, दुबो, सिरु मन पराउँछ । कृष्णसारका लागि बयरको दाना र बुबुल पनि उपयुक्त घाँस हो’, डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले भने । कृष्णसार स्थानान्तरणका लागि तयारी अन्तिम चरणमा पुगेको उहाँको भनाइ थियो । उनले वन कार्यालयले कृष्णसारलाई मन पर्ने बयरलगायतका जातका बिरुवासमेत रोपेको जानकारी दिँदै अनुकूल हावापानी र वातावरण भएको समय पारेर स्थानान्तरण गरिने जनाए ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत नारायण रुपाखेती जङ्गल र झाडी भएको ठाउँ कृष्णसारका लागि उपयुक्त नभएको बताउँदै खुला र घाँसेमैदान उपयुक्त हुने बताए । ‘घना जङ्गल र झाडीमा हराउने डर हुन्छ’, उनले भने, ‘बिहान–बेलुका घाँसेमैदानमा चर्ने र दिउँसोको चर्को घाम तापेर बस्ने यसको स्वभाव हुन्छ ।’
कृष्णसारलाई उचित बासस्थान दिए संरक्षण सफल हुने भन्दै पूर्व संरक्षण अधिकृत रुपाखेतीले अहिलेसम्मका अनुभवले सफलता मिल्ने बताए । उनले कृष्णसार ल्याउन लागिएको टिकौली क्षेत्रमा ७० प्रतिशत घाँसेमैदान रहेको जानकारी दिए ।
कृष्णसार नेपालको संरक्षित वन्यजन्तु हो । कुनै समय नेपालको तराई क्षेत्रमा प्रशस्त पाइने कृष्णसार पछिल्लो समय भेटिन छाडेपछि सरकारले संरक्षणको प्रयास थालेको हो । नेपालमा कृष्णसारको सङ्ख्या चार सय ५२ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । बर्दियामा एक सय ९६ र कञ्चनपुरको शुक्लाफाँटामा दुई सय ५६ कृष्णसार छन् ।