
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमारुपमा लिने गरेको स्मरण गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिन पुग्नुभएका नेता तथा कार्यकर्ताले सीतालाई माओवादीका सर्वोच्च नेता प्रचण्डको असली सल्लाहकारका रुपमा व्याख्या गरे । उनीहरुले प्रचण्डलाई सफल बनाउन सीताले खेल्नुभएको भूमिकाको चर्चा गरे ।
माओवादीका नेता दीनानाथ शर्माले सीताले पार्टीभित्र विभिन्न सङ्कट र अप्ठ्यारो अवस्थामा पनि सवैलाई सम्झाई बुझाइ गरी पार्टीमा आमाको भूमिका निर्वाह गरेकी स्मरण गरे ।
‘हप्कीदप्की र माया गरेर सबैलाई ठीक ठाउँमा राख्ने अभिभावकको भूमिका, सबैलाई मिलाउने, क्रान्तिका कठीन घडी र सङ्कटबाट पार्टीलाई जोगाउने, प्रचण्डलाई यहाँसम्म पुर्याउन राजनीतिक सल्लाहकारले दिनुपर्ने सबै भूमिका निर्वाह गरीन्’, उनले भने ।