
काठमान्डौ/नाबालिग बलात्कृत भएपछि काठमान्डौको ठमेलमा रहेको चर्चित लर्ड अफ ड्रिम्स (एलओडी)मा नाबालिग प्रवेश गराएको भन्दै पक्राउ परेका सो एलओडीका दुवै सञ्चालकलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ । एलओडीबाट निस्किएकी नाबालिग बलात्कृत भएकी थिइन् ।
त्यसपछि जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी गरी ललितपुर प्रहरीले एलओडीका सञ्चालक रुदिल बल्लब श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गरेको थियो । घटना अनुसन्धानका लागि ललितपुर प्रहरीले ती दुवै जनालाई काठमान्डौ प्रहरी परिसर पठाएको थियो ।
तर, जिल्ला सरकारी वकिल कार्यालयको रायअनुसार भन्दै सो प्रकरण अनुसन्धान नसकिँदै उनीहरूलाई काठमान्डौ प्रहरीले छाडेको हो । काठमान्डौ प्रहरी प्रवक्ता सिताराम रिजालले सरकारी वकिलको रायअनुसार उनीहरू हाजिरी जमानीमा छाडेको बताए ।