विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार

Share:

काठमान्डौ/जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन् ।

 

पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिएका छन् ।

 

भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उनि जागिरको सिलसिलामा अष्ट्रेलिया पुगे । उनले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गरे ‘अष्ट्रेलियामा मूर्तीकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ती बनाउथे’, उनले भने , ‘सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किए ।’

 

उनि अष्ट्रेलियामा काम गर्दा मासिक रु दुई लाख आम्दानी गर्थे । पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उनि स्वदेशी फर्के । छ वर्ष अघि स्वदेश फर्कनु भएका उनले हामी मासिक रु ७० हजारभन्दा बढी आम्दानी गरेका छन् भने तीन जनालाई जागिर पनि दिएका छन् ।

 

होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उनले भने, ‘पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ती निर्माण गर्दा सामग्री बाहेक रु १२ हजार ज्याला लिन्छु ।’आर्टसमा समेत रुचि राख्ने उहाँले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताए ।

 

उनिसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरिरहनुभएको छ । उनिहरुले मासिक रु १७ हजारका दरले पारिश्रमिक पाउछन् । ‘मेरोमा काम नभएको समयमा उनिहरु अन्यत्र काम गर्न जान्छन्’, उनले भने ।

 

पोखरा महानगरपालिका वडा नं. १७ सिताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गर्दै गर्नुभएका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताउछन् ।

 

‘एक जोडि शिबलिङ्ग र गौमुखे धारा निर्माण गरेको रु छ हजार पाँच सयका दरले रु सात लाख दुई हजार लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ’, उनले भने । शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए ।

Share: