Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अमेरिका, जापान र दक्षिण कोरियाको शिखर सम्मेलन अमेरिकामा – Lekhanpeeth

अमेरिका, जापान र दक्षिण कोरियाको शिखर सम्मेलन अमेरिकामा

177
0
Share:

काठमान्डौ/ दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ ।

 

उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउने क्रममा यही अगष्टमा त्रिदेशीय शिखर वार्ता हुने कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । ‘कोरिया,अमेरिका, जापान त्रिपक्षीय शिखर सम्मेलन यही अगस्टमा संयुक्त राज्य अमेरिकामा हुने कार्यक्रम छ, सम्मेलनको मिति र स्थान पछि घोषणा गरिनेछ,’ राष्ट्रपति कार्यालयले बिहीबार भनेको छ ।

 

सोल र वासिङ्गटनले दक्षिण कोरियाको राजधानीमा पहिलो आणविक परामर्शदात्री समूहको बैठक गरेको केही दिनपछि यो घोषणा भएको हो । प्योङयाङ र सोलबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छभने कूटनीतिक संवाद अवरुद्ध भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आणविक लगायत सामरिक हतियार विकासको लागि आह्वान गरेका छन् ।

 

छिमेकीको उक्त आह्वानको जवाफमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले लामो समयदेखिको आफ्नो सहयोगी वासिङ्गटनसँगको निकटता बढाएका छन्। उत्तर कोरियालाई नियन्त्रणमा राख्ने प्रयासमा पूर्व औपनिवेशिक शक्ति जापानसँग पुराना मतभेद बिर्सेर नयाँ सम्बन्ध कायम गर्ने प्रयास गरेका छन् ।

 

यदि प्योङयाङले आफ्नो आणविक हतियार आफ्ना सहयोगीविरुद्ध प्रयोग गरेमा आणविक हतियारले नै जवाफ दिएर उसको शासन नै अन्त्य गर्ने चेतावनी गत अप्रिलमा सोल र वासिङगटनले दिएका थिए ।

 

योनहाप समाचार समाचार समितिले अज्ञात स्रोतलाई उद्धृत गर्दै प्रकाशन गरेको समाचारमा उक्त सम्मेलन वासिङ्गटन नजिकैको क्याम्प डेभिडमा अगस्ट १८ मा हुने जनाइएको छ ।

 

गत मङ्गलबार आणविक हतियारयुक्त एक अमेरिकी पनडुब्बी बुसानको बन्दरगाहतर्फ गएको थियो । सन् १९८१ पछि पहिलोपटक अमेरिकी पनडुब्बी बुसान बन्दरगाहतिर गएको हो ।

 

प्योङयाङले गत साता लामो दूरीको अन्तरमहाद्विपीय क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो । ठोस इन्धनबाट सञ्चालन हुने लामो दूरीको उक्त क्षेप्यास्त्र अमेरिकासम्म प्रहार गर्ने क्षमताको भएको बताइएको छ ।

 

Share: