सुन तस्करीमा मेरो संलग्नता छैन : दीपक मल्होत्रा

314
0
Share:

काठमान्डौ/त्रिभुवन विमानस्थलमा बुधबार बरामद गरिएको करिब १०० किलोग्राम सुन तस्करमा आफ्नो संलग्नता नरहेको व्यवसायी दीपक मल्होत्राले बताएका छन् । उनले आज (बिहीबार) काठमान्डौमा पत्रकार सम्मेलन गर्दै उक्त प्रकरणमा आफू संलग्न नरहेको बताएका हुन् ।

 

उनले गैरकानुनी कार्यमा संलग्न भएको बिना आधार र प्रमाण आक्षेप लगाई समाचार दिइनु व्यवसायिक मर्यादाको घोर उल्लंघन भएको टिप्पणी गरेका छन् ।’व्यक्तिलाई गैरकानुनी कार्यमा संलग्न भएको बिना आधार र प्रमाण आक्षेप लगाई समाचार दिइनु व्यवसायिक मर्यादाको घोर उल्लंघन र निन्दनीय कार्य हो,’ उनले भने ।

 

यस विषयमा माफी नमागे कानुनी उपचारमा जाने चेतावनी दिँदै पत्रकार सम्मेलनमा व्यवसायी मलहोत्राले भने,’म संलग्न नभएको कार्यमा मेरो नाम उल्लेख गरेर समाचार लेख्ने पत्रकार र प्रकाशन गर्ने मिडियाले यस कार्यमा माफी नमागे र खण्डन प्रकाशन नगरे म कानुनी उपचारमा जाने जानकारी गराउन चाहन्छु ।’

 

उनले आफूले अहिलेसम्म कुनै निकायबाट सम्पर्क नभएको र प्रहरी प्रशासनले पनि सम्पर्क नगरेको बताएका छन् । सरकारी निकायलाई कसले तस्करी गरेको भन्ने थाहा होला त्यसैले अरुलाई फोन नआएको उनको भनाइ छ ।

 

‘एक प्रतिशत पनि मेरो प्रत्यक्ष र अप्रत्यक्ष संलग्नता भएको भए, यति ठूलो काण्डमा म यहाँहरू समक्ष बसेर यसरी बोल्न सक्ने मैले आँट गर्दैनथे होला । मानिसहरू ललितानिवास काण्डमा भागिरहेका छन्, सानोसानो केसमा बाहिर गइरहेको अवस्था छ’ व्यवसायी मल्होत्राले भने ।

Share: