सुन बरामद प्रकरण : थप एक जना चिनियाँ नागरिक पक्राउ

266
0
Share:

काठमान्डौ/राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १०० किलो सुन बरामद गरेको प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जिक्वाङ लिन हुन् । उनी तिब्बत एयरबाट चीन भाग्न लागेको अवस्थामा प्रहरीले विमानस्थलबाटे पक्राउ गरेको हो ।

 

विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नका लागि राजश्व अनुसन्धान विभागले अध्यागमन विभागलाई जानकारी गराएको थियो। अध्यागमनले विमानस्थल प्रहरीलाई दिएको सूचनाका आधारमा पक्राउ गरेको हो ।

 

भन्सार छली गरी ल्याएको उक्त सुन प्रकरणमा बुधबार साँझ दुई र बिहीबार बिहान ४ गरी ६ जना यसअघि नै पक्राउ परिसकेका छन् । सुन प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरी र भन्सार विभागका अनुसार उक्त प्रकरणमा हालसम्म दोलखाका रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा गरी ६ जना पक्राउ परेका हुन् ।

 

उक्त प्रकरणमा बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा एक सय केजी सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ ।

 

विमानस्थल भन्सार परिसरमा थप सुन रहेको आशंकासँगै विभागले विशेष अप्रेशन जारी राखेको स्रोतले बताएको छ । विशेष अप्रेशनका लागि विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल परिसरमा पुगेका छन् । विभागमा कार्यरत सबै कर्मचारीहरुलाई बाहिर निकालेर थप सुनको खोजी भइरहेको बताइएको छ ।

 

बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरिएको थियो। यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

Share: